हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकतामा रहन्छ : प्रधानमन्त्री ओली
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यात वृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकतामा रहने बताउनुभएको छ ।
नेपाल हस्तकला महासङ्घको ४४ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यसका लागि सरकारले गर्नुपर्ने काममा लागि आफूहरूले सक्दो पहल गर्ने विश्वास दिलाउनुभयो ।
प्रधानमन्त्री ओलीले कला र संस्कृतिमा नेपाल धनी भएको सन्दर्भमा हस्तकला क्षेत्र कहिल्यै विस्थापित नहुने बताउँदै बजारका सामान भन्दा आफैले मेहनत गरेर फलाएका खाना र बनाएका सामान प्रयोग वृद्धिका लागि आग्रह गर्नुभयो । “हाम्रो देश कलाका लागि प्रसिद्ध देश हो । यहाँका विशेषता र कला अमूल्य छ । यिनमा हाम्रा दृष्टिकोण र कला सजिएका हुन्छन् ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हस्तकलाले महिलाको रोजगारी र सीप विकासका साथै सामाजिक उत्थानमा पनि मद्दत गरेको छ । यस क्षेत्रबाट उत्पादित सामान निर्यातका लागि लागौँ, म यसका विभिन्न विधाको विकासका लागि के के गर्नुपर्छ भन्नेबारे महासङ्घलाई बोलाएर छलफल गर्छु । त्यसका आधारमा हामी थप काम गर्नेछौँ ।”
महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले सरकारले सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने सम्बन्धी निर्देशिका जारी गरेकामा स्वागत गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । उहाँले निर्यात वृद्धि र सहजीकरणका लागि विभिन्न बुँदमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभयो ।
हस्तकला क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ११ लाख रोजगारी सृजना गरेको छ भने यसले करिब रु ११ अरब मूल्यको निकासी र सोही रकम बराबरको आन्तरिक कारोबार गरेको जनाइएको छ ।
कार्यक्रममा उत्कृष्ट निर्यातकर्ता र योगदानकर्तालाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्