पिएसबी र एकोराबबीच सहकार्य गर्ने समझदारी
काठमाडौँ । सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल तथा नेपाल टेलिभिजन र सामुदायिक रेडियो प्रसारक संघ नेपालबीच सूचना, सन्देश प्रसारणमा सहकार्य गर्ने सम्बन्धमा आज छलफल भएको छ ।
सिंहदरबारस्थित सार्वजनिक सेवा प्रसारण, पिएसबीको कार्यालयमा आयोजित छलफलमा कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले दुवै संस्थाको मूल उद्देश्य नागरिकलाई सुसूचित गर्नु र मुलुकको समृद्धिमा टेवा पुर्याउने भएकोले सहकार्य गरेर अघि बढ्न सकिने बताउनुभयो ।
कार्यकारी अध्यक्ष विष्टले पिएसबीको अन्तर्राष्ट्रिय अवधारणा र सामुदायिक रेडियोहरूले गरिरहेको अभ्यासलाई समेत अनुकरण गरेर सार्वजनिक सेवा प्रसारणका विषयवस्तु चयन र उत्पादनमा ध्यान दिइने बताउनुभयो ।
उहाँले सीमित स्रोत साधनकै बीचबाट पिएसबीको व्यापकता बढाउनुपर्ने भएकोले सूचना, सन्देश र प्रसारण पहुँचमा सार्वजनिक सेवा प्रसारण र सामुदायिक रेडियो प्रसारक सङ्घबिच निकट भविष्यमा सहकार्य गर्न सकिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोको स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान रहेको र पिएसबीको लक्ष्य पूरा गर्न सार्वजनिक सेवा प्रसारण नेपालसँग सहकार्य गरेर अघि बढ्न संघ प्रतिबद्ध रहेको बताउनुभयो ।
सो अवसरमा सामुदायिक रेडियो प्रसारक संघका तर्फबाट विभिन्न तीन वटा बुँदासहितको ध्यानाकर्षण पत्र सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. विष्टलाई बुझाउनुभएको थियो ।
ध्यानाकर्षण पत्रमा सूचना, सन्देश, प्रविधिमा सहकार्य, स्रोतको खोजी, परिचालन र पिएसबीको बोर्डमा संघका अध्यक्षको प्रतिनिधित्वको सुनिश्चितताबारे उल्लेख गरिएको छ ।
तस्बीर: रोम थापा
प्रतिक्रिया राख्नुहोस्