तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट प्रतियोगिता शुरु हुँदै 

दाङ । लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट प्रतियोगिता दाङको लमहीमा आजदेखि हुँदैछ ।

लुम्बिनी प्रदेश क्रिकेट सङ्घको आयोजनामा आजदेखि २९ गतेसम्म दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा लुम्बिनीका ६ जिल्लाका महिला क्रिकेट खेलाडीको सहभागितामा टी-२० छनोट प्रतियोगिता हुन लागेको हो ।

दुई समूहमा विभाजन गरी खेलाइने प्रतियोगिताको उद्घाटन खेलमा आज दाङ र पाल्पाबिच प्रतिस्पर्धा हुने लुम्बिनी प्रदेश क्रिकेट सङ्घका सचिव एवं छनोट प्रतियोगिता संयोजक कैलाश रोका मगरले जानकारी दिए । उनका अनुसार आजै दिउँसो नवलपरासी र बर्दियाबिच खेल हुनेछ । भोलि बाँके-पाल्पा र नवलपरासी-रूपन्देहीबीच खेल हुनेछ ।

यसैगरी, पुस २७ गते दाङ र बाँके तथा रुपन्देही र बर्दियाबिच खेल हुने सचिव रोका मगरले जानकारी दिनुभयो। पुस २८ गते समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता पहिलो सेमिफाइनलको खेल र त्यसपछि समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता दोस्रो सेमिफाइनल खेल हुने उहाले जानकारी दिनुभयो । छनोट प्रतियोगिताको फाइनल खेल पुस २९ गते हुनेछ ।

प्रतियोगितामा समूह ‘ए’ मा रुपन्देही, नवलपरासी र बर्दिया रहेका छन्भने समूह ‘बी’ मा दाङ, बाँके र पाल्पा रहेका छन् । प्रतियोगिताको मिति र तालिका सार्वजनिक भएसँगै क्रिकेट रङ्गशालामा तयारी तीव्र पारिएको छ ।

प्रधानमन्त्री कप महिला छनोट टी(२० क्रिकेट प्रतियोगिता माघ १ देखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली एपिएफसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा आठवटै टोलीले एक अर्कासँग खेल्नेछन् र अङ्क तालिकामा शीर्ष चारमा रहने टोली ‘प्ले अफ’ मा पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो ‘क्वालिफायर’ खेल्नेछन् ।

विजेता टोली सिधै फाइनल पुग्नेछ । तेस्रो र चौथो हुने ‘एलिमिनेटर’ खेल्नेछ । यसमा विजयी हुने पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरको पराजित टोली बाहिरिनेछ । पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button