तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री भण्डारीसँग बिम्स्टेकका महासचिवको भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग बिम्स्टेकका महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेट गर्नुभएको छ । 

भेटका क्रममा मन्त्री भण्डारीले बिम्स्टेक क्षेत्रलाई दिगो विकास, आर्थिक एकीकरण र साझा समृद्धिको फलदायी क्षेत्रमा रूपान्तरण गर्न बिम्स्टेक बडापत्रमा समाविष्ट उच्च आदर्श र उद्देश्यप्रति नेपाल दृढ प्रतिबद्ध रहेको बताउनुभयो। 

उहाँले बिम्स्टेकको सदस्य भएदेखि नै नेपालले बिम्स्टेक क्षेत्रमा शान्ति, स्थायित्व र समृद्धिको सर्वाङ्गीण लक्ष्यहरू प्राप्त गर्नका लागि सदस्य राष्ट्रहरुबीच क्षेत्रीय सहयोग र साझेदारी अभिवृद्धि गर्न सक्रिय भूमिका खेल्दै आएको बताउनुभयो । 

उहाँले बिम्स्टेक स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने सन्दर्भमा विभिन्न पूरक सम्झौताको मस्यौदालाई अन्तिम रूप दिन बस्ने संयन्त्रको बैठकको समन्वय एवम् सदस्य मुलुकका राय ÷प्रतिक्रियाको सञ्चारका निमित्त बिम्स्टेक सचिवालयले निभाउँदै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । 

मन्त्री भण्डारीले सम्झौतालाई बिम्स्टेक सदस्य मुलुक बीचमा रहेको फरक अवस्था र क्षमताको सम्बोधन हुने गरी एवं सबै मुलुकले समतामूलक लाभ लिने गरी सम्पन्न गर्नुपर्नेमा नेपालको जोड रहेको बताउनुभयो । 

मन्त्री भण्डारीले नेपालको सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा हुने स्तरोन्नतिलाई सहज तथा दिगो बनाउन र नेपालले दिगो विकासका लक्ष्य प्राप्तिका लागि थप स्रोत, प्रविधि र साझेदारी आवश्यक रहेको बताउनुभयो । उहाँले यस्ता मुलुकको दिगो स्तरोन्नतिलाई सहयोग गर्ने विषयमा महासचिव पाण्डेको ध्यानाकर्षण गराउनुभयो ।  

उहाँले नेपालले २०१८ मा चौथो बिम्स्टेक सम्मेलनमा आयोजना गरेको विषय स्मरण गराउँदै उक्त सम्मेलनले महत्वपूर्ण र दीर्घकालीन निर्णयहरू गरेको बताउनुभयो । 

उहाँले बिम्स्टेक चार्टरको रूपरेखा तयार गर्नु, सहमति भएका सहकार्यका क्षेत्रमा प्रगतिको दायरा र सघनतालाई तीव्र बनाउनु र यो क्षेत्रीय मञ्चलाई थप संस्थागत बनाउने उद्देश्यले बिम्स्टेक स्थायी कार्यकारी समितिको स्थापना गर्नु महत्वपूर्ण उपलब्धी रहेको स्मरण गराउनुभयो । 

मन्त्री भण्डारीले पर्यटन, संस्कृति, गरिबी निवारण र जनतासँग जनताको सम्पर्क लगायतका सहकार्यका क्षेत्रहरूमा अधिक समन्वयकारी र परिणाममुखी तवरले अन्य सदस्य राष्ट्रहरूसँग आपसी लाभकारी सहयोग निरन्तर अगाडि बढाउन नेपाल दृढ प्रतिबद्ध रहेको बताउनुभयो ।  

भेटका क्रममा बिम्स्टेकका महासचिव पाण्डेले बिम्स्टेकसँग नेपालले राखेका अपेक्षा पुरा गर्न प्रयत्न गर्ने बताउनुभयो । उहाँले बिम्स्टेक राष्ट्रहरू बीचको व्यावसायिक सम्बन्धसँगै आपसी भाइचारा समेत बढाउन आवश्यक रहेको बताउनुभयो । 

उहाँले क्रेडिट रेटिङमा दक्षिण एसियामा नेपालले दोस्रो स्थान हासिल गरेको भन्नुहुँदै नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको बताउनुभयो। 

महासचिव पाण्डेले नेपालको आर्थिक विकास र आपसी हितका लागि बिम्स्टेकले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button