तपाईँ सुन्दै हुनुहुन्छः

अत्यधिक चिसो र शीतलहरबाट बाँकेमा जनजीवन प्रभावित

बाँके। बाँकेमा चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। शीतलहरले विशेष गरी बालबालिका, वृद्धवृद्धा, दम रोगका बिरामी, र गरिबीको रेखामुनि रहेका समुदायलाई बढी असर गरेको छ। तापक्रम गिरावटसँगै चिसोले आम सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ।

चिसोको मारमा परेका समुदायलाई राहतका लागि दाउरा वितरण गर्ने परम्परा भए पनि यसपटक बाँकेका कुनै पनि पालिकाले चासो नदेखाएको भन्दै सर्वसाधारण आक्रोशित बनेका छन्। कोहलपुर नगरपालिका–१२ का आइते कामीले गरिब, असहाय, वृद्धवृद्धा र बिरामीको समस्या प्रति नगरपालिकाले हालसम्म कुनै ध्यान नदिएको गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, ‘चिसोले जनजीवन अस्तव्यस्त भएको छ। आगोको सहारामा जीवन जिउने अवस्था भए पनि पालिकाहरूले हालसम्म केही गर्न सकेका छैनन्।’

कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद बिकले चिसोबाट प्रभावितलाई राहत पुर्‍याउन दाउरा वितरणको तयारी भइरहेको र अब एक/दुई दिनमै वितरण सुरु हुने जानकारी दिनुभयो।

शीतलहरले नेपालगन्ज र कोहलपुरका मुख्य बजारमा सर्वसाधारणको आवतजावत पातलिएको छ। चिसोसँगै चल्ने हावाले रुघाखोकी र ज्वरोका बिरामीको सङ्ख्या पनि बढेको छ। नेपालगन्जको भेरी अस्पतालका सूचना अधिकारी तथा कन्सल्टेन्ट फिजिसियन डा. सङ्केत रिसालका अनुसार अस्पतालमा रुघाखोकी, ज्वरो, टाइफाइड र दम रोगका बिरामीको सङ्ख्या अत्यधिक बढेको छ।

डा. रिसालले सर्वसाधारणलाई चिसोबाट जोगिनका लागि अति जरुरी कामबाहेक घर बाहिर ननिस्कन, न्यानो लुगा लगाउन र तातो झोलिलो खानेकुरा खान सुझाव दिनुभएको छ। साथै, कोठामा आगो वा हिटर बाल्दा हावा पास हुने व्यवस्था अनिवार्य गर्न र निसासिने अवस्थाबाट बच्न सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button