तपाईँ सुन्दै हुनुहुन्छः

बिच्छयाँवासीको बिजुली  बाल्ने सपना साकार हुँदै 

बाजुरा । बाजुराकै दुर्गम मानिने हिमाली गाउँपालिका अन्तर्गत साबिकको बिच्छयाँ गाविसका स्थानीयको वर्षौपछी बिजुली बाल्ने सपना साकार हुने भएको छ । हिमाली गाउँपालिका १, २ र ३ वडाका ६ सय ८२ परिवार र वडा नम्बर ५ स्थित क्युडी गाउँका १ सय २० परिवारका घरमा केही महिना भित्रै बिजुली बल्ने भएको हो ।

बर्षौंदेखि अँध्यारोमा बस्दै आएका गाउँले बिजुली बल्ने भएपछि निकै उत्साहित र खुसी भएका स्थानीय राज बहादुर थापाले बताउनुभयो । ‘वर्षौंदेखि झरोको सहारामा उज्यालो बालिरहेका स्थानीय २०८२ जेठ सम्म बिजुली बाल्न पाउने भएका हुन् ।

गाउँपालिकाको सहकार्यमा ‘कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खाज् नेपाल’ संस्थासँगको सहकार्य तथा सहयोगमा बिजुली बाल्ने काम तीव्र गतिमा भइरहेको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो ।

हिमाली गाउँपालिकाको २ मा नातिखोला लघुजलविद्युत् आयोजनाबाट बिजुली उत्पादन हुने भएको हो । कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खाज् नेपालका प्राविधिक निर्देशक डा नारायण गुरुङका अनुसार २०८२ जेठ भित्रै  बिच्छयाँका सबै गाउँमा बिजुली बालिसक्ने योजना छ ।

झन्डै १४ करोड ५५ लाख रुपैयाँमा १ किलोवाट क्षमताको उक्त परियोजना सम्पन्न हुन लागेको हो । परियोजनाको काम गत वर्षबाट सुरु भएको हो । परियोजना सम्पन्न गर्न संस्थाले दुई चरणमा काम गरेको थियो ।  बिच्छयाँमा चाँडो बिजुली बाल्न संस्थाले हेलिकप्टर मार्फत हुम्लाको जिबाना बाट सामान ढुवानी गरेको छ । 

भौगोलिक विकटताले बिच्छ्यामा राष्ट्रिय प्रसारण लाइन पुग्ने कुनै सम्भावना नभएपछि कांदुरि संस्था मार्फत  स्थानीयको बिजुली बाल्ने सपना पूरा हुन लागेको हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारी जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button