नेपाल पत्रकार महासङ्घको योगदान सराहनीय : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन मात्र नभएर सामाजिक र आर्थिक रूपान्तरणमा नेपाली पत्रकारिता क्षेत्र र नागरिक संस्थाका हैसियतले नेपाल पत्रकार महासङ्घले पुर्याएको योगदान सराहनीय भएको बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रको सुदृढीकरण र स्थायित्व पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्ने बताउनुभयो । उहाँले सूचना प्रविधिको तीव्र विकाससँगै समाचारको विषयवस्तु, सञ्चार माध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तनले पाठकको सही सूचना पाउने चाहना पूरा गर्न सहज भएको बताउँदै योसँगै सूचना प्राप्ति र सम्प्रेषणमा सजिलो भएसँगै छिटो सूचना दिने होडबाजीमा मिथ्या सूचना प्रवाह हुन सक्ने र त्यसले समाजलाई दिग्भ्रमित पार्न सक्ने खतरातर्फ आमसञ्चारका माध्यमहरू सचेत हुन जरुरी रहेको बताउनुभयो ।
उहाँले उपलब्ध नवीनतम सूचना प्रविधिको अधिकतम प्रयोगसँगै राज्यको चौथो अङ्गको रुपमा रहेको सञ्चार माध्यमले स्वतन्त्र, निष्पक्ष र वस्तुनिष्ठता जस्ता व्यावसायिक धर्मको अधिनमा रही सत्यको अन्वेषण र सत्यको सम्प्रेषणमा वर्तमानमा देखिएका चुनौतीहरूलाई चिर्दै सत्यतथ्य सूचना सम्प्रेषणमा कुनै कसर बाँकी नराख्नेमा आफू विश्वस्त रहेको स्पष्ट पार्नुभयो ।
राष्ट्रपति पौडेलले श्रमजीवी पत्रकारको हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र व्यावसायिक पत्रकारिताका लागि नवनिर्वाचित नेपाल पत्रकार महासङ्घको कार्यसमितिले आगामी दिनमा अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्