वीरगंज महानगरपालिका र रेडियो नेपालबीच कार्यक्रम प्रसारण गर्ने सम्झौता
वीरगंज । सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबास, र वीरगंज महानगरपालिका बिच “वीरगंजके विकास आ भोजपुरी पहिचान” सम्बन्धि रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने सम्बन्धमा आज सम्झौता भएको छ ।
रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबास मधेस प्रदेशले प्रत्येक हप्ताको आइतबार दिउँसो ३.१५ बजेदेखि ३.४५ बजेसम्म जम्मा २५ वटा शृङ्खला मिति २०८१ पौष २८ गते देखि २०८२ असार १५ गतेसम्म प्रसारण गर्ने सम्बन्धमा आज वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण र रेडियो नेपालको तर्फबाट ध्रुब अधिकारी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्र आदान प्रदान गर्दै वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले सञ्चार तथा प्रसारण जगतको अग्रणी संस्था रेडियो नेपालसँग वीरगंजको विकास र भोजपुरी भाषाको संरक्षण र सम्बद्र्धनकालागि सहकार्य गर्न पाउँदा आफूलाई गौरव महुशुस भएको बताउनुभयो ।
कार्यक्रम सञ्चालन सम्बन्धि सम्झौता सम्पन्न भएसँगै वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहले रेडियो नेपालसँग कुरा गर्दै सञ्चार क्षेत्रमा विशिष्ट पहिचान बोकेको रेडियो नेपालसँग भएको सम्झौताले बैभव वीरगंजको परिकल्पनालाई साकार पार्ने विश्वास आफूले लिएको बताउनुभयो ।
उहाँले बैभव वीरगंज अन्तर्गत वीरगंजका धार्मिक स्थलहरूको सौन्दर्यीकरण, नगर क्षेत्रको बृहत्तर सरसफाई, प्रवेशद्वारको सौन्दर्यीकरण लगायतका कामहरू महानगरपालिकाले गरिरहेको र यस्ता कामहरूको जनसमक्ष यस कार्यक्रम मार्फत उजागर हुने विश्वास व्यक्त गर्नुभयो ।
सम्झौता आदान प्रदान कार्यक्रममा वीरगंज महानगरपालिकाका सल्लाहकार हरि पोख्रेल, वडा नम्बर ५ का अध्यक्ष प्रदीप चौरसिया, प्रकाशन प्रसारण तथा सूचना शाखाका प्रमुख हरिओम प्रसाद चौधरी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्