तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि सुरु भएको छ ।

काठमाडौँको धुम्बाराही बसेको माओवादी केन्द्रीय समिति बैठकको पहिलो दिन आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा जानकारी गराउनुहुँदै पार्टीको सङ्गठन सुधारका लागि जनतामा जाने प्रस्ताव पेश गर्नुभयो ।

बैठकमा अध्यक्ष प्रचण्डले जनतामा जाने अभियानअन्तर्गत हुलाकी राजमार्ग र पूर्वपश्चिम राजमार्ग केन्द्रित अभियान तथा उपत्यका विशेष अभियानहरू सञ्चालन गर्ने प्रस्ताव राख्नुभएको बैठकपछि माओवादी केन्द्रका प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

यस्तै अध्यक्ष प्रचण्डले नेकपा माओवादी केन्द्र आगामी निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले जस्ता दलहरूसँग मिलेर चुनाव नलड्ने तर नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, तथा माओवादीबाट फुटेर गएका दलहरूसँग भने सहकार्य र एकताको पहल गर्ने प्रस्ताव केन्द्रीय समितिको बैठकमा पेश गर्नुभएको छ ।

यसअघि बैठकमा माओवादी केन्द्रका प्रदेश कमिटीहरूको तर्फबाट प्रदेश अध्यक्ष तथा इन्चार्जहरूले सम्बन्धित प्रदेशको स्थलगत रिपोर्टिङ प्रस्तुत गर्नुभएको थियो ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक भोलि बिहान ११ गते पुनः बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button