तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरीद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ५ सय बढीको उपचार

वीरगञ्ज । जाडो बढेसँगै ग्रामीण क्षेत्रमा बिरामी बढ्न थालपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साले आज पर्साको पकाहामैनपुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

स्वास्थ्य शिविरबाट भारतीय सीमावर्ती सहर भेलाहीसँगै जोडिएको पकहाँमैनपुरका पाँच सयभन्दा धेरै सर्वसाधारणले स्वास्थ्य लाभ लिएका छन् ।

सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले जनतासँग सम्बन्ध सुधार गर्ने उद्देश्यले आज पकहाँमैनपुर गाउँपालिका वडा नम्बर–३ स्थित रामचरित्र भगत माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरेको हो ।

शिविरमा ज्येष्ठ नागरिक, महिला, पुरुष तथा बालबालिकाको उल्लेखनीय मात्रामा सहभागिता रहेको थियो । सशस्त्र प्रहरी बलले प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर, स्वास्थ्य शिविर पकहाँ मैनपुर गाउँपालिका, वीरगञ्ज सामुदायिक आँखा केन्द्र, रोहित फाउन्डेसन/क्वेष्ट फर्मास्युटिकल्सको सहयोगमा सञ्चालन गरेको शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा, हाडजोर्नी सेवा, जनरल फिजिसियन र आँखा सम्बन्धि स्वास्थ्य सेवा उपलब्ध गराएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटरका गणपति राधेश्याम धिमालले सीमा क्षेत्रमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सीमावासीसँग सम्बन्ध विस्तार गर्नका लागि स्वास्थ्य शिविर आयोजना गरेको जानकारी दिनुभयो ।

पकहाँमैनपुर गाउँपालिका अध्यक्ष सुरेशप्रसाद मेहताले स्वास्थ्य शिविरबाट स्थानीय जनताले घरदैलोमै स्वास्थ्य सेवा पाएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्साल, पकहाँमैनपुर गाउँपालिकाका उपाध्यक्ष सरफुन नेशा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button