भरतपुर मेयर्स कप अन्तर विद्यालय क्रिकेट शुरु
चितवन । दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता आज (शुक्रबार)देखि सुरु भएको छ ।
प्रतियोगिताको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले संयुक्त रुपमा गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सचिव खड्काले नेपाल प्रिमियर लिग (एनपिएल) को अर्को संस्करण चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आयोजना गर्न सकिने उल्लेख गर्नुभयो । यसका लागि रंगशालाको निर्माण कार्यलाई पूर्णता दिन सबै जना अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
नेपाली क्रिकेटलाई नजिकबाट माया गरिदिनु भएकोमा भरतपुर महानगर प्रमुख रेनु दाहाललाई विशेष धन्यवाद व्यक्त गर्नुभयो । विद्यालय स्तरीय क्रिकेट लिगमा ४७ वटा टिमले सहभागिता जनाउनु निकै सकारात्मक भएको उहाँको भनाई थियो ।
महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई स्पोर्टस् सिटीको रुपमा विकास गर्न मेर्यस कप फुटबल, उपमेयर कप भलिबल लगायत विभिन्न खेलहरू महानगरले आयोजना गर्दै आइरहेको स्मरण गर्नुभयो ।
प्रमुख दाहालले अलपत्र रहेको रंगशाला सबैको साथ र सहयोगका कारण निर्माण कार्य तीव्र रुपमा अघि बढ्नु खुसीको विषय भएको उल्लेख गर्नुभयो ।
उहाँले यही नमुना खेल मैदानमा खेल खेली, छनोट भई जनवरी १८ देखि हुने यू–१९ महिला विश्वकप क्रिकेट छनोट भएका टोलीलाई प्रति खेलाडी रु ५० हजार दिने घोषणा समेत गर्नुभयो । भरतपुर महानगरको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा लिग प्रतियोगिता हुनेछ । प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी ४७ विद्यालयबिच प्रतिस्पर्धा हुँदैछ । फागुन दोस्रो सातासम्म चल्ने प्रतियोगितामा कुल ६१ खेल हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्