मुगुमा रैथाने गाईको अस्तित्व सङ्कटमा
मुगु । हिमाली जिल्ला मुगुमा रैथाने गाईको अस्तित्व सङ्कटमा पर्दै जान थालेको छ।
स्थानीय समुदायले परम्परागत रूपमा पाल्दै आएको रैथाने गाईको सङ्ख्या दिनप्रतिदिन घटाउँदै गएका छन् । आधुनिक मानवसँग सम्बन्धित प्रविधिको बिकास र अवसरको खोजीका लागी मानिसहरू सुविधा सम्पन्न ठाउँमा बसाई सराई सर्ने सङ्ख्या बढ्दो छ । अर्कोतिर दिन प्रतिदिन जग्गा जमिनको तुलनामा जनसङ्ख्या बढ्दो क्रममा छ । त्यसैले थोरै जग्गाको लागि बर्षौ दुख गरेर किन गाई, गोरु पालेर फाइदा केछ भन्ने एकथरी जमात छ। ” थोरै दूधले फाइदा नै छैन समय धेरै खर्चिनु पर्ने र र घाँसपातले अपुग हुने घाटा बेहोर्नु भन्दा गाई नपालेकै बेस अर्को थरी जमात छ । “छायाँनाथ रारा नगरपालिका वडा न-१ निवासी प्रताप मल्ल भन्नूहुन्छ ।
” हाम्रो तिर चरिचरण त्यति नहुने र घर पालौं घाँस छैन, घाँस किन्ने पैसा छैन, चराउने बन छैन” छायाँनाथ कै अर्का कृषक नन्दबहादुर मल्ल भन्नुहुन्छ।
जग्गाको तुलनामा जनसङ्ख्या बढ्दै जानु र भएको जग्गा जमिन आफैँले सदुपयोग नगरी अर्काको जिम्मा लगाउने प्रवृत्ति बढ्दो छ । खेतीपाती तिर ध्यान नदिई गाईगोरूमा भुल्नु भुल्नु भन्दा ज्याला मजदुरी बाट दैनिक रूपमा फाइदा देख्ने अर्को थरी जमात छ । गरिबीका कारण दैनिक छाक टार्न अभिभावकहरू मजदुरी गर्नु पर्ने र साना बाल बालिका स्कुल जाने भएकाले दिन प्रति दिन गाई गोरु पाल्ने कृषकको कमी हुँदा परम्परागत रैथाने गाई को अस्थित्व कर्णाली बाटै सङ्कटमा पर्ने देखिन्छ ।
स्थानीय किसानहरूले रैथाने गाईको पालन खर्च धेरै र आम्दानी न्यून भएकाले मुगुका दुर्गम गाउँहरू बाट रैथाने गाई पाल्ने कृषकहरू घट्दै जानुले जैविक विविधतामा असर पर्ने देखिन्छ ।
जिल्ला भेटनरी तथा पशु अस्पताल मुगुका अनुसार, रैथाने गाईको संरक्षणका लागि विशेष योजना आवश्यक छ। “रैथाने गाई हाम्रो स्थानीय सम्पत्ति हुन्। यी गाईहरूले कठोर हावापानीमा टिक्न सक्ने विशेष क्षमता राख्छन्। यिनको संरक्षण नभए हिमाली क्षेत्रको जैविक विविधतामा असर पर्न सक्छ” कार्यालय प्रमुख भिमचन्द्र बुढाले बताउनुभयो । आगामी दिनमा रैथाने गाई संरक्षणका लागि कार्यक्रमहरू ल्याइने पनि बुढाले बताउनुभयो ।
रैथाने गाईको अस्तित्व सङ्कटमा परेकोले स्थानीय सरकार, सङ्घसंस्था र समुदायलाई मिलेर यिनको संरक्षण गर्न आवश्यक छ। यसका लागि सहकारीहरू स्थापना, सुभेक्षाकोष सञ्चालन, र किसानलाई प्रोत्साहन दिने कार्यक्रम लागू गर्नुपर्ने विशेषज्ञहरूले सुझाव दिएका छन्।
रैथाने गाईलाई बचाउनका लागि समयमै पहल गरिएन भने, यो प्रजाति इतिहासमै सीमित हुने खतरा रहेको स्थानीय बुढापाकाहरूले चेतावनी दिएका छन्।
प्रतिक्रिया राख्नुहोस्