गुडवीभका बालबालिकाले मनाए सामूहिक जन्मदिन

काठमाडौँ । नेपाल गुडवीभ फाउन्डेसनमा हुर्किरहेका बालबालिकाले बुधबार राजधानीमा आयोजित एक समारोहबीच सामूहिक जन्मदिन मनाएका छन् ।
गुडवीभले संस्थामा आश्रित बालबालिकाको प्रत्येक वर्ष जनवरी पहिलो तारिखमा सामूहिक जन्मदिन मनाउँदै आएको हो । गुडवीभ नेपाली गलैँचा उद्योगलाई बालश्रममुक्त बनाउने अभियानमा झन्डै तीन दशकदेखि क्रियाशील रहेको छ ।
बालबालिकाले केक काटेर जन्मदिन मनाएपछि उनीहरूलाई उपहार पनि दिइयो । जन्मदिनको अवसरमा फेल्ट एण्ड यार्न, कन्सोर्टियम नेपाललगायतका संस्थाले बालबालिकालाई उपहार पनि प्रदान गर्यो । बालबालिकाले गीत, नृत्य र नाटकमार्फत मनोरञ्जन पनि प्रदान गरे । फुटसल, भलिबल, टेबुल टेनिसलगायतका खेलमा उत्कृष्ट हुने बालबालिकालाई कार्यक्रमका प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख शान्ता थापा, नेपाल गुडवीभ फाउन्डेसनका अध्यक्ष युवराज विद्रोही, संस्थाका महासचिव किरण थापालगायतले पुरस्कार वितरण गर्नुभयो ।
संस्थामा आश्रित सुबिन मुल्मीले आफ्नो आमालाई बाबुले छाडेर गएपछि आमाले अर्कैसँग विवाह गरेकाले आफूले धेरै दुख भोग्नुपरेको अनुभव सुनाउनु भयो । त्यसपछिका दिनमा गुजारा चलाउनका लागि उहाँले मासिक दुई हजार तलबमा एउटा गलैँचा उद्योगमा काम सुरु गरेको सुनाउनुभयो । समयको क्रमसँगै संस्थाबाट उद्धार गरेर गुडवीभसम्म आइपुग्दा आफूले नयाँ जीवन पाएको र संसारै जितेजस्तो महशुस भएको अनुभव उहाँले कार्यक्रममा सुनाउनुभयो । बुबाले छाडेर गएका कारण आफ्नो जन्मदर्ता अहिलेसम्म नबनेकोमा उहाँले दुखेसो पोख्नुभयो ।
बालबालिकालाई जन्मदिनको शुभकामना दिँदै प्रमुख अतिथि उपप्रमुख थापाले सुबिन र उहाँ जस्ता अन्य बालबालिकाको जन्म दर्ताका लागि संस्था, जनप्रतिनिधि, नगरपालिकालगायतले पहल गर्ने बताउनुभयो । ‘काठमाडौँको जुनसुकै ठाउँमा भए पनि कुनै पनि बालबालिकाले जन्मदर्ता नभएर के गर्ने होला भनेर अब चिन्ता गर्नुपर्दैन, हामी जनप्रतिनिधि तपाईँहरूको साथमा छौँ’, उहाँले भन्नुभयो ।
गुडविभका अध्यक्ष युवराज विद्रोहीले गलैँचा उद्योगबाट बालश्रम हटाउन नेपाल गुड्वीभ फाउन्डेसनले नेतृत्वदायी भूमिका खेलेको बताउनुभयो । सस्थाको ३० वर्षे यात्रामा हजारौँ बालबालिका लाई शिक्षा दिएको र उज्ज्वल भविष्यको निम्ति काम गरिरहेको संस्थाका महासचिव किरण थापाले गुडवीभ स्थापनाको तीन दशक भएको अवसरमा बालबालिकाको संरक्षण र बालअधिकारको प्रत्याभूति दिलाउन सरकारी निकाय, स्थानीय तह र विभिन्न संघसंस्थासँग मिलेर वर्षभरि कुनै न कुनै कार्यक्रम गरेर मनाउने बताउनुभयो ।
गुडवीभमै हुर्किएकी सुमित्रा बस्नेतले आफूलाई संस्थाले यहाँ ल्याएर सहयोग नगरेको भए आफू यो अवस्थामा नआईपुग्ने स्मरण गर्नुभयो । आफ्नो जीवन परिवर्तनमा ठूलो भूमिका खेलेको संस्थाप्रति उनले आभार ब्यक्त गर्नुभयो । उहाँले निकट भविष्यमै आइसल्याण्डमा हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउँदै आफूले बाल्यकालमा भोगेको अनुभव सुनाउने बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्