तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा सिटीस्क्यान मेसिनको अभाव, बिरामी थप समस्यामा

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा पाँच महिनादेखि सिटीस्क्यान मेसिन बिग्रिएपछि यहाँ आउने बिरामीलाई समस्या भएको छ । 

अस्पतालको सिटीस्क्यान मेसिन बिग्रिँदा दैनिक झन्डै २० बिरामीले सिटीस्क्यान सेवाका लागि निजी अस्पताल वा अन्यत्र जानु परेको छ ।

भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा.निराजन सुवेदीका अनुसार १६–स्लाइस सिटीस्क्यान मेसिनको ट्युब बिग्रिएको हो। मर्मतका लागि करिब १ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। “हामीले १२८–स्लाइस मेसिन आवश्यक भएको बताउँदै आएका छौँ। पुरानो मेसिनले टाउको मात्र स्क्यान गर्न सक्छ, तर नयाँ मेसिन किन्न ७–१० करोड रुपैयाँ लाग्न सक्छ”, डा.सुवेदीले भन्नुभयो।

कालिकोटका कृष्ण बमले उपचारका लागि धेरै खर्च गरेर भेरी अस्पताल आएको बताउनुभयो । “सरकारी अस्पतालमा सेवा लिन्छु भन्ने आशा थियो। तर, सिटीस्क्यान गर्न निजी अस्पताल जानुपर्‍यो। आर्थिक भार झन् बढ्यो”, उहाँले गुनासो गर्नुभयो।

दैलेखकी सुमित्रा शाहीले आफ्ना गुनासा राख्दै भन्नुभयो,“सिटीस्क्यान मेसिन नहुँदा निजी अस्पतालमा १० हजार रुपैयाँ तिर्नुपर्‍यो। गरिबका लागि सरकारी सेवा मात्र भए पनि ठूलो राहत हुने थियो। सरकारले यस्तो समस्या चाँडै समाधान गर्नुपर्छ”

भेरी अस्पतालको वित्तीय समस्या झन् जटिल बन्दै गएको छ। अस्पताललाई बिमाबाट भुक्तानी लिन बाँकी १० करोड रुपैयाँ र अघिल्लो आर्थिक वर्षको २२ करोड रकम अझै तिर्नुपर्ने अवस्था छ। यस्तो आर्थिक सङ्कटका बीच पुरानो मेसिन मर्मत गर्ने वा नयाँ मेसिन किन्न सक्ने सम्भावना टाढा देखिएको छ।

डा.सुवेदीले बारम्बार नेपालगञ्जमा आउने मन्त्री र सांसदलाई समस्या राखे पनि सुनुवाइ नभएको बताउनुभयो। “जुनसुकै उच्च अधिकारी आए पनि म सिटीस्क्यान मेसिनको विषय प्राथमिकताका साथ उठाउँछु भन्नुहुन्छ। तर, समस्या समाधानका लागि पहल भएको छैन ।”, उहाँले भन्नुभयो।

सिटीस्क्यान मेसिनको अभावले भेरी अस्पतालमा आउने बिरामीलाई नजिकको सुविधा लिने मौका गुमाएको छ। गरिब र टाढाबाट आउने बिरामीलाई थप आर्थिक भारले सताएको छ। यस समस्याको तत्काल समाधान गर्न स्वास्थ्य मन्त्रालयको ठोस पहल आवश्यक छ।

भेरी अस्पतालमा कर्णाली, सुदूरपश्चिम, र लुम्बिनी प्रदेशबाट बिरामीहरू सेवा लिन आउने गर्दछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button