एमाले सचिवालय बैठक : केन्द्रीय कमिटी बैठकमा पेश हुने राजनीतिक प्रतिवेदन पारित
काठमाडौँ । नेकपा एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले यही पुस २१ गतेदेखी बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश हुने राजनीतिक प्रतिवेदन पारित गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट केन्द्रीय कमिटीमा पेश हुने राजनीतिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
सचिवालय बैठकपछि सञ्चारकर्मीहरू सँगको कुराकानीमा एमाले उपमहासचिव ज्ञवालीले नयाँ सरकार बनेपछि पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्न लागेको हुनाले अध्यक्षको प्रतिवेदनमा नेपाली कांग्रेस र नेकपा एमाले बीच सहकार्य गर्नुपर्ने कारण, औचित्य तथा सहकार्यले सिर्जना गरेका अवसरहरूको विश्लेषण गरिएको बताउनुभयो ।
प्रतिवेदनमा सरकार गठन भएपछिको ६ महिनामा सरकारले हासिल गरेका उपलब्धिहरूको समीक्षा गर्दै अर्थतन्त्रलाई लयमा ल्याउन र विकास निर्माणका कामलाई गति दिन सरकारको ध्यानाकर्षण गराइएको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।
एमालेको केन्द्रीय कमिटी बैठकमा पेश हुने राजनीतिक प्रतिवेदनमा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले गरिरहेको कामको समीक्षा गर्दै हाल सम्म ६ हजार जना भन्दा बढी बचत कर्ताको सम्पूर्ण बचत रकम फिर्ता भएको, करिब ८ हजार बचत कर्ताको रकम आंशिक रुपमा फिर्ता गरेको, अनियमितता गर्नेहरूलाई कानुनी सजायको दायरामा ल्याउने प्रक्रिया चलिरहेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन उच्चस्तरीय प्राधिकरण गठन गरेकोमा सरकारको कामको समर्थन गर्दै यसलाई थप गति दिन सुझाव दिइएको एमाले उपमहासचिव ज्ञवालीले बताउनुभयो ।
यस्तै प्रतिवेदनमा राष्ट्रिय राजनीतिमा देखिएको अराजकता र मुलुकलाई अस्थिरतातर्फ लैजाने भइरहेका प्रयासबारे समेत समीक्षा गरी आवश्यक सजगता अपनाउन सरकारको ध्यानाकर्षण गराइएको ज्ञवालीले बताउनुभयो ।
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक यही पुस २१ र २२ गते पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ ।
प्रतिक्रिया राख्नुहोस्