तपाईँ सुन्दै हुनुहुन्छः

जनताको इच्छाअनुसार सङ्घीयता कार्यान्वयन हुन सकेन : उपेन्द्र यादव

बाँके । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियानलाई प्रभावकारी बनाउन गाउँ केन्द्रित कार्यक्रम सञ्चालन गर्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ ।

अध्यक्ष यादवले बुधबार बाँकेको नेपालगन्जमा जसपा नेपालले आयोजना गरेको सङ्गठन बिस्तार आधारभूत अभियान अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, ‘जनताको इच्छाअनुसार सङ्घीयता कार्यान्वयन हुन सकेको छैन ।’ उहाँले मुलुकमा प्रदेश स्थापना भए पनि सीमित अधिकारका कारण अझै पनि जनताले सङ्घीयताको अनुभूति गर्न नपाएको बताउनुभयो ।

अध्यक्ष यादवले सरकार परिवर्तन गरेर मात्र देशले विकास र निकास नपाउने दाबी गर्नुभयो । उहाँले नेपाल कृषिप्रधान देश भए पनि मल, बीउ र कृषि उपकरणको अभावका कारण किसान र मजदुरहरू मर्कामा परेको जिकिर गर्नुभयो ।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय सचिव कमरुद्दीन राई, केन्द्रीय सदस्यहरु इस्तियाक अहमद शाह, अम्बिका काफ्ले, तबसुम प्रबिन, जिल्ला अध्यक्ष कौशल कुमार धोबी, सचिव सूर्यलाल यादव लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button