तपाईँ सुन्दै हुनुहुन्छः

 गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले गुठी सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि जति सक्दो छिटो गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई दिएको निर्देशनको प्रगति अवस्थाबारे आज मन्त्रालयसँग छलफल गरेर देशभरको गुठीसम्बन्धी समस्या समाधान गर्ने गरी विधेयक ल्याउन निर्देशन दिएको हो । 

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले  देशभर रहेको गुठीको जग्गा खोज्ने काम गरिरहेको बताउनुभयो । 

मन्त्री अधिकारीले गुठीको संरचना र जग्गा खोजेर आवश्यक नीति तय गर्ने सरकारको योजना रहेको पनि जानकारी गराउनुभयो ।

मन्त्री अधिकारीले भूमिहीनहरूको समस्या समाधन गर्नका लागि राष्ट्रिय भूमि आयोगलाई अधिकार सम्पन्न बनाउनु पर्ने भन्दै भएका कानुनका अप्ठ्यारा फुकाउनु आवश्यक रहेको औँल्याउनुभयो । उहाँले पुस महिनाभित्र सबै जिल्लामा आयोग बनाउने काम सकिने जानकारी समितिमा गराउनुभयो ।

सांसदहरूले गुठी समस्या समाधानका लागि भइरहेको पहल, गुठी ऐन निर्माणका लागि भइरहेका काम, भूमिहीनको समस्या समाधन लगायतका विषयमा प्रश्न गर्नुभएको थियो ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button