जनकपुरधामको परिक्रमा सडकभित्र मद्यमासलाई निषेध गर्न मुख्यमन्त्रीको आग्रह
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधामको परिक्रमा सडकभित्र मांस मदिराको उत्पादन, बिक्री वितरण र उपभोगलाई निषेध गर्ने धार्मिक र कानुनी व्यवस्थालाई कडाइका साथ पालना गर्न आग्रह गर्नुभएको छ ।
पत्रकारहरुसंग कुरा गर्दै उहाँले जनकपुरधामको धार्मिक तथा साँस्कृतिक परम्परा, गरिमा र प्रतिष्ठा अक्षुण्ण राख्न स्वतःस्फूर्त ढंगले मांस मदिराको उत्पादन, बिक्री वितरण र उपभोग नगर्न जनकपुरवासीलाई आग्रह गर्नुभएको हो ।
उहाँले ठूला ठूला विश्वका धार्मिक स्थलहरूमा यो प्रावधान कडाइका साथ कार्यान्वयन हुने गरेकाले जनकपुरधामवासीले आफै सजग हुनुपर्ने धारणा पनि राख्नुभयो ।
जनकपुरधामको परिक्रमा सडकभित्र मांस मदिराको उत्पादन तथा बिक्री वितरण गर्न सरकारी निकायले अझै इजाजत नदिने गरेको भएपनि इजाजतबिना नै मांस मदिराको किनबेच र उपभोग भइरहेकोमा मुख्यमन्त्रीले दुःख प्रकट गर्नुभयो ।
केही समयअघि जनकपुरधाम उपमहानगरपालिका कार्यालयले परिक्रमा सडकभित्र मांस मदिराको बेचबिखन नगर्न सूचना जारी गरे पनि स्थानीय व्यवसायीले पूर्ववत् मांस मदिरा बिक्री वितरण गरिरहेका छन् ।
उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहको पहलमा भने परिक्रमा सडकभित्र कुखुरा लगायत पशुपन्छीको काटमार रोकिएको छ भने अन्य पशुपक्षीको काटमार परिक्रमा सडक बाहिरै हुने गरेकाले मासु माछाको बजार जनकपुरधाममा परिक्रमा सडक बाहिर नै रहेको पाइन्छ ।






प्रतिक्रिया राख्नुहोस्