तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशन मङ्गलवारदेखि सुरु हुने

बाँके । लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशन मङ्गलवार, पुस १६ गते दिउँसो २ बजे बस्ने भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले नेपालको संविधानको धारा १८३ को उपधारा (१) अनुसार यो अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश सरकारको पुस ८ गते बसेको बैठकले हिउँदे अधिवेशन बोलाउन सिफारिस गरेको थियो। यस आधारमा बोलाइएको अधिवेशनमा प्रारम्भिक चरणका कार्यक्रमहरू तय भएका छन् । प्रदेशसभाका सचिव दुर्लभकुमार पुनका अनुसार पहिलो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयले तयार पारेको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुनेछ।

सचिव पुनले भन्नुभयो ‘पहिलो बैठकमा प्रदेश प्रमुखको पत्र पढेर सुनाउने, विधेयक पेस गर्ने र शुभकामना आदानप्रदानको कार्यक्रम हुनेछ। अन्य कार्यसूची तय गर्न प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको बैठकले निर्णय गर्नेछ ।’ 

यसअघि, चौथो अधिवेशनबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएका दुई विधेयकलाई पुनर्विचार गर्न प्रदेश प्रमुखले सन्देशसहित फिर्ता गर्नुभएको थियो। ती विधेयकमा ‘प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक’ र ‘स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ समावेश छन्। यी विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा ३ अनुसार असोज २२ गते फिर्ता गरिएको थियो।

लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशनले यसपटक प्रदेश सरकारका महत्वपूर्ण आर्थिक, सामाजिक र प्रशासनिक मुद्दाहरूमा छलफल गर्दै निर्णय लिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button