हिउँदे वर्षा नहुँदा किसान चिन्तित
वीरगंज । मध्य तराईको पर्सा,बारा,रौतहट लगायतका जिल्लामा हिउँदे बालीको लागि आवश्यक पानी नपरेपछि किसानहरु चिन्तन भएका छन् । पुष महिनाको दोस्रो साता सम्म पनि पानी नपर्दा बालीको वृद्धि विकास नहुने चिन्ताले किसानहरु पिरोलिएका छन् ।

पर्साको ग्रामीण भेगका किसानहरुले हिउँदे बाली अन्तर्गत गहुँ, सुर्ती, तोरी, मुसुरो, आलस, तथा राजमा लगायतका बाली लगाएका छन् । तर आवश्यकता अनुसार पानी नपर्न र हुस्सु समेत नलाग्दा बालीलाई नकारात्मक असर परेका किसानहरुले बताएका छन् ।
जिराभवानी गाउँपालिका वडा नम्बर २ सेढवाका किसान अमृत चौधरीले विगतका जाडो मौसममा हुस्सु लागेकै समयमा गहुँ बालीमा पहिलो सिचाई गरेको बताउँदै यसपाली चर्को घाम लागेको कारण बोरिङ मार्फत सिचाई गरेको बताउनुभयो । हिउँद याममा अहिले सम्म पानी नपर्दा बालीको वृद्धि विकास रोकिएको उहाँको भनाई छ ।

ठोरी गाउँपालिका वडा नम्बर ४ बिजयबस्तीका किसान अर्जुन श्रेष्ठले हालसम्म पानी नपरेका कारणले सुर्ती र तोरी लगायत अन्य बालीमा समरुया भएको र यसले गर्दा उत्पादनमा कमी हुने बताउनुभयो । हालसम्म पानी नपरेपछि किसानहरुले पटक पटक सिँचाई गरेर भएपनि बाली जोगाइरहेको श्रेष्ठको गुनासो छ ।
हिउँद याममा आकाशे पानीको भरमा रहेका किसानहरूलाई पानी नपर्दा समस्या भएको किसान श्रेष्ठले बताउनुभयो । हिउँदमा हुस्सु लागेन र पानी परेन भने हिउँदे बालीको उत्पादनमा २० प्रतिशत कमी हुने श्रेष्ठको भनाई छ । उत्पन्न समस्याका बारेमा जिराभवानी गाउँपालिकाका कृषि शाखाका प्राविधिक क्षेत्रबहादुर गुप्ताले हिउँदे बालीको अर्थ नै हिउँद अर्थात् शीत लहरमा हुने बाली रहेको बताउनुभयो ।
हिउँदे बालीहरू चिसो र सिमसिमे पानीमा वृद्धि विकास तथा फस्टाउने गर्दछन् । यस पाली पानी नपरेका कारण बालीहरू खासै राम्रो नहुने प्राविधिक गुप्ताले भनाई छ । अझै समय छ, पुस मसान्तसम्म एकसाता पनि पानी पर्यो भने बाली सप्रिन सक्ने गुप्ताले दाबी गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्