तपाईँ सुन्दै हुनुहुन्छः

छाउपडी कुप्रथा अन्त्य गर्न कञ्चनपुरका सबै स्थानीय तहलाई छाउगोठ भत्काउन निर्देशन

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ निगाली टोलमा महिनावारी भएका बेला छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजी दमाईको सर्प दंशबाट मृत्यु भएको घटनापछि कञ्चनपुर जिल्लाभर छाउगोठ भत्काउने विशेष अभियान सञ्चालन गर्न प्रशासनले निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ९ वटै स्थानीय तहलाई परम्परागत रूपमा जरा गाडेर बसेको छाउपडीजस्तो सामाजिक कुप्रथा अन्त्य गर्न अभियान सञ्चालन गर्न पत्रमार्फत अनुरोध गरेको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा सोमबार जारी पत्रमा भीमदत्त, दोधाराचाँदनी, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी नगरपालिका र बेलडाँडी तथा लालझाडी गाउँपालिकालाई सम्बोधन गरिएको छ । कमला दमाईको ज्यान गएको पृष्ठभूमिमा अब चुप लागेर बस्न सकिँदैन, प्रमुख जिल्ला अधिकारी ढकालले भन्नुभयो, यो कुप्रथाको अन्त्य गर्न स्थानीय तहबाट आवश्यक निर्णय गराई छाउगोठ भत्काउने अभियान तत्काल सञ्चालन गर्न जरुरी देखिएको छ । जिल्ला समन्वय समितिको कार्यालय कञ्चनपुरलाई समेत बोधार्थ दिइएको पत्रमा समाजमा अझै गहिरो गरी जरा गाडेर बसेको छाउपडी प्रथालाई विधिवत् अन्त्य गर्ने अभियानमा सबै तहको समन्वय आवश्यक भएको उल्लेख गरिएको छ । 

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

कृष्णपुर नगरपालिकाले भने आइतबार नै १५ दिनभित्र छाउगोठ भत्काउन सूचना जारी गरिसकेको छ । कमला आउजी दमाईको मृत्युपछि सो क्षेत्रका महिलाहरूमा डर र आक्रोश दुवै बढेको देखिन्छ । अधिकारकर्मीहरूले कञ्चनपुर प्रशासनको यो निर्णयलाई स्वागत गर्दै स्थायी रूपमा परिवर्तन ल्याउने खालका चेतनामूलक कार्यक्रम र कानुनी कारबाहीका कदम पनि सँगै अघि बढाइनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button