तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज भन्सारमा सिर्सीया सुख्खा बन्दरगाह भन्सार गाभियो,एकिकृत सेवा प्रवाह शुरु

दुई भन्सारले १ वर्षमा २ खर्ब २५ अर्ब ७६ करोड बढी राजश्व उठाए

वीरगन्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज भन्सार कार्यालय (आई सी पी ) मा आजबाट सिर्सीया स्थित सुख्खा बन्दरगाह भन्सार कार्यालय गाभिएर एकिकृतरुपमा सेवा प्रवाह शुरु भएको छ । 

सङ्घीय सरकारको मन्त्रिपरिषदको बैठकले वीरगन्जको आईसीपि भन्सार कार्यालय र सिर्सीया सुख्खाबन्दरगाह भन्सार कार्यालयलाई एक आपसमा गाभेर श्रावण १ गते देखि सेवा प्रवाह गर्ने निर्णय गरे अनुरुप आजबाट दुवै भन्सारलाई एकिकृत गरी सेवा प्रवाह सुरु गरिएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले जानकारी दिनुभयो । 

एकिकृत रुपमा सेवा प्रवाह शुरु भएसँगै भन्सार मूल्याङ्कनमा एकरुपता आउने, आयात निर्यात कर्तालाई सहज हुने तथा भन्सार प्रशासन प्रभावकारी र पारदर्शी हुने विश्वास लिइएको प्रमुख भन्सार प्रशासक लामिछानेले बताउनुभयो । 

सिर्सीयामा रहेको सुख्खा बन्दरगाह भन्सार कार्यालय ५७ बिगाह क्षेत्रफलमा रहेको छ । सिर्सीया सुख्खाबन्दरगाह सँगै वीरगन्ज भन्सार कार्यालय आईसिपि जोडिएको छ । 

यसैबिच मुलुकको प्रमुख भन्सारनाका वीरगन्ज भन्सार कार्यालय  (आईसिपी) र सिर्सीया सुख्खाबन्दरगाह कार्यालयले आर्थिक बर्ष ०८१/०८२ मा २ खर्ब २५ अर्ब ७६ करोड १३ लाख राजश्व असुली गरेका छन् । 

वीरगन्ज भन्सार कार्यालयले एक वर्षमा १ खर्व ७५ अर्ब ९३ करोड ७९ लाख राजश्व असुली गरेको छ भने सिर्सिया सुख्खाबन्दरगाह कार्यालयले ४९ अर्ब ८२ करोड ३७ लाख १८ हजार राजश्व असुली गरेको प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले बताउनुभयो । 

वीरगन्ज भन्सार कार्यालयलाई अर्थमन्त्रालयले आर्थिक बर्ष ०८१/०८२ का लागि २ खर्व १८ अर्ब ९५ करोड ५९ लाख राजश्व असुलीको लक्ष्य तोकेको भएपनि लक्ष्यको ८० दशमलब ३५ प्रतिशत राजश्व सङ्कलन गरेको लामिछानेले बताउनुभयो । 

त्यसैगरी सिर्सीया सुख्खाबन्दरगाह भन्सारलाई ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार राजश्व असुलीको लक्ष्य तोकेको भएपनि सुख्खाबन्दरगाह भन्सारले लक्ष्यको ८२ दशमलब ९७ प्रतिशत राजश्व असुली गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button