तोरी खेतीतर्फ आकर्षण बढ्दै
मुगु । हिमाली जिल्ला मुगुमा तोरी खेतीप्रति कृषकहरूको आकर्षण बढ्दै गएको छ। स्थानीयस्तरमा मौसमी तरकारीको खेतीसँगै तोरी खेतीले पनि व्यापकता पाउँदै गएको छ।
तोरी खेतीबाट उत्पादन हुने तेल र घाँसले यहाँका कृषकहरूलाई आर्थिक लाभ दिने सम्भावना देखिएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन्।
कृषि प्राविधिकहरूको अनुसार, मुगुको जलवायु र माटो तोरी खेतीका लागि उपयुक्त भएकाले पनि अलि उच्च भेगमा पनि उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ।
स्थानीय सरकारले पनि तोरी खेतीलाई प्रवर्द्धन गर्न अनुदान र तालिमहरू प्रदान गर्नु पर्ने आवश्यकता देखिएको छ । पछिल्ला समयमा बाहिरी आयातित खाने तेलको अधिकतम प्रयोगले मानव स्वास्थ्यमा त्यति फाइदाजनक नहुनुका साथै बजार भाउ पनि निकै बढे पछि यहाँका केही कृषकहरू तोरी खेतीको सुरुवात गर्दै आएका छन् ।
छायानाथ रारा नगरपालिका वडा नं १० घट्टलेकका कृषक ज्ञानसिंह सेजुवालका अनुसार, “पहिला हामीले तोरी खेतीलाई गम्भीरताका साथ लिएका थिएनौँ। तर अहिले राम्रो उत्पादन र बजार मूल्यले यो खेतीप्रति हाम्रो चासो बढाएको छ।” सेजुवालले फेरि भन्नू भयो बाहिरी आयातित तेलको प्रयोग भन्दा तोरीको तेल स्वास्थ्यको लागि अत्यन्तै राम्रो स्वादिलो भएकाले घरमा पनि यही तेलको प्रयोग गर्दछौ ।
छायानाथकै अर्का शिक्षक एवं कृषक रङ्गबहादुर कार्कीले पनि आफूले बाहिरी आयातित बजारको तेल खान छोडिसक्यौँ, आफ्नै खेतबारीमा उत्पादन गरेको तोरीको तेल प्रयोग गर्छौ । स्वास्थ्यवर्द्धक, स्वादिलो अर्ग्यानिक अनि शरीरमा घस्न समेत प्रयोग हुने भएकाले यसलाई ब्यबसायिक रूपमै खेती गर्न सके राम्रो आम्दानी हुने शिक्षक कार्कीको तर्क छ ।
तोरी खेतीको विस्तार अहिले फाटफुट रूपमा सोरू, खतेड, गमका घट्लेक , हेर्निकाँद,लगायतका स्थानमा गरिँदै आएको छ यस खेतीलाई यहाँका कृषकहरूले ब्यबसायिक रूपबाटै खेती गर्न सके राम्रो आम्दानी हुन सक्ने कृषि विज्ञहरूको धारणा छ ।
प्रतिक्रिया राख्नुहोस्