तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारग्रामबाट कृषिका कुरा कार्यक्रम प्रसारण गर्ने सम्झौता

विराटनगर । रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तरगत तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम १०३ मेगाहर्ज विराटनगरबाट कृषिका कुरा कार्यक्रम प्रसारण हुने भएको छ । कार्यक्रम प्रसारणका लागि सञ्चारग्राम र उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश विराटनगरबिच आज सम्झौता भएको छ । 

मन्त्रालयका गतिविधिहरू, कृषि सम्बन्धी प्रदेश सरकारका नीति तथा कार्यक्रमहरू, उन्नत खेती प्रविधि, पशुपालन, कृषक तथा कृषि विशेषज्ञसँगको अन्तरवार्ता, खाद्य सुरक्षा र स्वच्छता लगायतका विषयमा आम नागरिकलाई सुसूचित गराउने उद्देश्यले रेडियो कार्यक्रम तथा सार्वजनिक हितका सूचनाहरू प्रसारण गर्न लागिएको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख दिपा दिवालीले जानकारी दिनुभयो ।  

सार्वजनिक सेवा प्रसारणको रुपमा रूपान्तरण भएको रेडियो नेपालले देशको आर्थिक समृद्धिको महत्वपूर्ण अङ्गको रुपमा रहेको कृषिका क्षेत्रमा नागरिकलाई सचेत र उत्प्रेरित गराउने उद्देश्यले कृषिका कुरा कार्यक्रम प्रसारण गर्न लागिएको सञ्चारग्रामका कार्यक्रम अधिकृत नयराज नेपालले बताउनु भयो । 

सम्झौतामा मन्त्रालयका तर्फबाट महाशाखा प्रमुख दिपा दिवाली, खाद्य अनुसन्धान अधिकृत बिमला पोख्रेल र सञ्चारग्रामको तर्फबाट कार्यालय प्रमुख सूर्यनारायण लालकर्ण र  कार्यक्रम अधिकृत नयराज नेपालले हस्ताक्षर गर्नुभयो । उक्त कार्यक्रममा सञ्चारग्रामका प्रशासकीय अधिकृत मनोज गुप्ता र वरिष्ठ कार्यक्रम सहायक बलराम दाहालको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button