तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीको छत्रकोटमा जिपलाइन निर्माण

गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले जिल्लामै पहिलो पटक जिपलाइन निर्माण गरेको छ । 

पालिकाले आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले छत्रकोटको देवालय मन्दिरबाट देवी भगवती मन्दिरसम्म पुग्नेगरि जिपलाइन निर्माण गरेको हो ।  

पालिकाले पर्यटन प्रवद्र्धन गर्न पालिकाभित्र संरचना निर्माणसँगै धार्मिक, साँस्कृतिक र पुरातात्त्विक महत्वका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण, संवद्र्धन र प्रचारप्रसार गरेर आन्तरिक पर्यटनलाई थप प्रभावकारी बनाउने गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । 

गाउँपालिकाले ‘रुरु रेसुङ्गाको धार्मिक आस छत्रकोटमा बसौँ वास’ भन्ने नीति नै बनाएर पर्यटकीय गन्तव्य निर्माण कार्यलाई तीव्र अगाडी बढाएको छ । गाउँपालिकाको वडा नम्बर–३ को छत्रकोट देवालय मन्दिर भगवती मन्दिर–लुम्छा जिपलाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

अघिल्लो आर्थिक वर्षबाट निर्माण सुरु भएको जिपलाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । १ हजार ८० मिटर लम्बाई रहेको जिलाइपनको ६७ मिटरको उचाइ रहेको छ । जिपलाइनमा औषत १५ देखि २० मिटर प्रतिसेकेन्डमा तौल अनुसारको गति रहेको छ । सुरु स्टेसनदेखि ल्याडिन्ङ हुने स्टेशनसम्म पुग्न अधिकतम ५५ देखि ७७ सेकेन्ड समय लाग्ने अनुमान रहेको छ ।

८६ लाख ७३ हजार १ सय ४४ रुपैयाँ लागत रहेको छ । लुम्बिनी प्रदेश सरकार र छत्रकोट गाउँपालिकाको समपूरक बजेटमा सानु सेती देवी कन्ट्रक्सन प्रालिले जीपलाइन निर्माण गरेको हो । 

जिपलाइन चढ्नको लागि गाउँपालिका वासीहरूको लागि ४ सय रुपैयाँ, विद्यार्थीहरूको लागि ३ सय रुपैयाँ, पालिका बाहिरका नागरिकको लागि ५ सय रुपैयाँ र विदेशी नागरिकको लागि १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । 

पालिकाले निर्माण गरेको जिलाइपनको सम्पूर्ण तयारी पुरा गरेर शुक्रवारबाट सञ्चालनमा ल्याउने तयारी गरेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button