तेस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला सुरु
कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा आजदेखि तेस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला सञ्चालन भएको छ ।
बेलौरी उद्योग वाणिज्य सङ्घको आयोजना तथा बेलौरी नगरपालिकाको सह–आयोजनामा बेलौरीको खुलामञ्चमा सञ्चालन गरिएको महोत्सव पुस १७ गतेसम्म जारी रहने छ ।
‘कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्ध बेलौरीको मूल आधार’ भन्ने मूल नारासहित आयोजना गरिएको उक्त महोत्सवले स्थानीय उत्पादन, कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्दै कृषि, उद्योग र व्यापार क्षेत्रमा नयाँ सम्भावना उजागर गर्ने लक्ष्य राखेको बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह बिष्टले बताउनुभयो ।
महोत्सवमा राखिने स्टलमा स्थानीय कृषि उत्पादन, जैविक वस्तुहरू, हस्तकला, औद्योगिक सामग्री र आधुनिक प्रविधिको प्रदर्शनी गरिने बेलौरी उद्योग वाणिज्य संघका महासचिव गोविन्द सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार महोत्सवको मुख्य आकर्षणमा स्थानीय र राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुति रहने छ । यसका साथै, महोत्सवले स्थानीय संस्कृति झल्काउने विभिन्न गतिविधिहरूलाई प्राथमिकता दिने बताइएको छ । स्टल शुल्क, प्रवेश शुल्क, प्रायोजन र सरकारी तथा गैरसरकारी निकायहरूको सहयोग महोत्सवको मुख्य आर्थिक स्रोत हुने आयोजकले जनाएको छ ।
उद्घाटन समारोहमा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी लगायतका वक्ताहरूले बेलौरीका विविध विषयमा आआफ्ना धारणा राख्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्