तपाईँ सुन्दै हुनुहुन्छः

दुनै–लासिक्याप सडक ट्रयाक निर्माणमा तीव्रता

सुर्खेत । डोल्पा सदरमुकाम दुनैबाट माथिल्लो डोल्पाको मरिमसम्मको एक सय किलोमिटर सडकमध्ये २५ किलोमिटर खण्डको ट्रयाक निर्माण सुरु भएको छ ।

भेरी करिडोर सडक आयोजनाअन्तर्गत सदरमुकाम दुनैसम्म यातायात सञ्चालन भए पनि सो भन्दा माथिल्लो भेगमा सडक सुविधा छैन । दुनै–लासिक्याप सडक निर्माण सुरु भएसँगै सो भन्दा माथिल्लो भेगमा नेपाली सेनाले काम गर्ने छ । हाल २५ किलोमिटर सडकखण्डभित्र ट्रयाक निर्माण तीव्र बनाएको आयोजना प्रमुख सुनिल रञ्जितकारले जानकारी दिनुभयो । 

लासिक्याप–मरिमको लम्बाइ ७५ किलोमिटर छ । उक्त ठाउँमा नेपाली सेनाले ४० किलोमिटर ट्रयाक निर्माण पहिले गरिसकेको आयोजना प्रमुख रञ्जितकारले बताउनुभयो । दुनैबाट लासिक्याप २५ किलोमिटर छभने लासिक्यापबाट मरिम ७५ किलोमिटर छ । २०८२ पुस १६ गते निर्माण पूरा गर्ने गरी सडक निर्माणको जिम्मेवारी सूर्य–श्रेया–शान्ति देवी जेभी काठमाडौँले २०७८ चैत १७ गते रु १३ करोड ४२ लाखमा ठेक्का सम्झौता गरेको थियो । 

भेरी करिडोर नामकरण गरेर राष्ट्रिय प्राथमिकतामा राख्नुका साथै त्रिदेशीय पारवहनमा सजिलो हुने भएकाले छिन्चु–जाजरकोट–डोल्पा सडक त्रिदेशीय मार्गलाई महत्वका साथ हेरिएको छ । यो करिडोर सम्पन्न भएमा सबैभन्दा छोटो त्रिदेशीय मार्ग बन्नेछ । सेनाले भेरी करिडोरअन्तर्गतका जाजरकोट–डोल्पा सडक विसं २०६५ मा निर्माण सुरु गरेको थियो । ट्रयाक खुलेसँगै सेनाले उक्त एक सय १८ किलोमिटर सडक २०७६ सालमा भौतिक पूर्वाधार मन्त्रालयलाई हस्तान्तरण गरेको थियो । दुनैबाट मरिम नाकासम्मको एक सय किलोमिटरमध्ये नेपालतर्फको ४० किलोमिटर सडक निर्माण भइसकेको छ । दुनैबाट धोसम्म सडक बन्न बाँकी छ ।

जाजरकोटबाट दुनैसम्म बेलिब्रिज निर्माण भएपछि यातायात सञ्चालनमा छ । माथिल्लो डोल्पाका तीन गाउँपालिकाका जनताले नेपालतर्फ सडक सुविधा नहुँदा अझै सरकारी कामकाजका लागि सदरमुकाम दुनै आउन एक साता पैदल हिँड्नुपर्ने बाध्यता छ ।

सडक निर्माणमा ढिलाइ भएको काइके गाउँपालिकाका अध्यक्ष अङ्कद रानाले गुनासो गर्नुभयो । निर्माण सामग्रीदेखि दैनिक उपभोग्य सामग्री लिन र ल्याउन बाटो नहुँदा समस्या हुने गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button