तपाईँ सुन्दै हुनुहुन्छः

एनआरटी झापा कप फुटबलको फाइनलमा

भद्रपुर, झापा । काठमाडाँैको न्युरोड टिम (एनआरटी) झापाको बिर्तामोडमा जारी झापा कपको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको अन्तिम सेमिफाइनल खेलमा एनआरटीले इटहरीको राष्ट्रिय जागृति क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै फाइनलमा काठमाडौँकै चर्च व्याइज युनाइटेडसँगको भेट पक्का गरेको हो ।

आजको खेलको ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा एनआरटीका एञ्जल महर्जन, कृतिश छुञ्जु र अभिषेक लिम्बूले गोल गरे । जागृतिका कप्तान प्रवेश दनुवार र सविन घिमिरेको प्रहार गोलरक्षक विशाल सुनारले विफल बनाएका थिए भने विदेशी खेलाडी एलेक्सको प्रहार बारमा लागेर बाहिरिएको थियो ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम एनआरटीका गोलरक्षक सुनार भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए । 

प्रतियोगितामा नेपाल र भारतका १० टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो । 

प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button