फालगुनन्द गोल्डकपः आयोजक फिदिम स्पोर्टिङ क्लबको विजयी सुरुवात
पाँचथर । पाँचथरको फिदिममा सुरु भएको ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक विजयी भएको छ ।
शनिबार फिदिम मा.विको खेल मैदानमा सम्पन्न भएको पहिलो खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले कर्साङ फुटबल क्लबलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा गोलरहित बराबरी भएकोले खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको म्यान अफ द म्याच आयोजकका गोलकिपर मिराक खजुम घोषित भए । आइतबार मच्छिन्द्र फुटबल क्लब काठमाडाँै र झापा एघार फुटबल क्लब झापाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
फिदिम स्पोर्टिङ क्लबको आयोजनामा आगामी पुस १५ गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद १० लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले ५ लाख ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । यो पुरस्कार राशी जिल्लाकै सर्वाधिक हो ।
गोल्डकपमा ‘ए’ डिभिजनका ४ वटा क्लबसहित १० टिम सहभागी भएका छन् ।
चर्च व्वाइज युनाइटेड, न्युरोड क्लब (एनआरटी)काठमाडौँ, मच्छिन्द्र क्लब काठमाडौँ, त्रिभुवन आर्मी क्लब काठमाडौँ, चित्लाङ क्लब काठमाडौँ, विराटनगर सिटी फुटबल क्लब, सहलेस युवा क्लब सिराहा, न्यु स्टार क्लब सुनसरी, झापा एघार फुटबल क्लब र आयोजक फिदिम स्पोर्टिङ क्लब गोल्डकपमा सहभागी भएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्