तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीको घान्द्रुकमा स्कारपियो दुर्घटना हुँदा ५ जना घाइते, १ जनाको अवस्था गम्भीर 

पोखरा । कास्कीको घान्द्रुकमा स्कारपियो दुर्घटना हुँदा एक जना गम्भीर सहित ५ जना घाइते हुनु भएको छ । आज दिउँसो करिब १ः४५ बजे पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ४६८१ नम्बरको स्कारपियो भिरमा खस्न पुग्दा एक जना गम्भीर सहित ५ जना यात्रु घाइते हुनु भएको कास्की प्रहरीले जनाएको छ । 

उक्त दुर्घटनामा पर्नु भएको मुस्ताङ थासाङ गा.पा.१ टुकुचे बस्ने ७० बर्षकी भिम कुमारी थकाली गम्भीर घाइते हुनु भएको छ । उहाँको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

त्यसैगरी घान्द्रुकको विकासे डाँडाबाट चालकले अगाडिको बाटो हेर्न जाने क्रममा अचानक उक्त स्कारपियो भिरमा बस्न पुग्दा करिब ६ सय मिटर तलको भिरमा पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वसन्त कुमार शर्माले बताउनु भयो । उहाँहरूको उद्धार गरी ४ पोखरा ल्याइएको छ । 

स्कारपियो भिरमा खस्न पुग्दा स्कारपियोमा सवार ६ मध्य ५ जना घाइते हुनु भएको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष गौतम गुरुङले बताउनु भयो । उक्त दुर्घटनामा परी पोखरा १६ दिप बस्ने २० बर्षकी रिहाना थकाली घाइते हुनु भएको छ । त्यस्तै मुस्ताङ थासाङ गाउँपालिका वडा नं. १ टुकुचे बस्ने ३१ बर्षकी ज्योति खत्री थकाली घाइते हुनु भएको छ । बाग्लुङ गलकोट नगरपालिका वडा नं.१ झाँक्रीस्थान बस्ने ७६ बर्षकी खिम कुमारी खत्री घाइते हुनु भएको छ । उहाँको टाउको र बायाँ खुट्टामा चोट लागेको छ भने स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । त्यसै गरी बाग्लुङ झाँक्रीस्थानकी करिब ५२ बर्षकी नविना खत्री घाइते हुनु भएको छ । घाइतेहरूको शरीरको विभिन्न भागमा चोट लागेको छ ।

सवारी चालक स्याङ्जा भिरकोट न.पा.२ डाँडाकोट बस्ने ४३ वर्षका गोविन्द श्रेष्ठलाई प्रहरीले आफ्नो  नियन्त्रणमा लिएको छ । स्कारपियोमा सवार बाग्लुङ गलकोट न.पा.१ झाँक्रीस्थान बस्ने ४० बर्षकी अनिता खत्री सकुसल हुनुहुन्छ । स्थानीयको साथमा प्रहरी चौकी घान्द्रुक, प्रहरी चौकी बिरेठाँटी र वडा प्रहरी कार्यालय बगर कास्कीको टोलीले घाइतेहरूको यात्रुहरूको उद्धार गर्नु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button