तपाईँ सुन्दै हुनुहुन्छः

शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छ : मन्त्री लेखक                                                                

पाल्पा । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले  शान्ति सुरक्षा पूर्णरुपले कायम गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

बुधबार इलाका प्रशासन कार्यालय रामपुरको भवन उद्घाटन गर्नुहुँदै सरकारले उद्योग धन्दा, व्यवसाय,  नागरिकलाई दिने सेवा सबै कुराको लागि पूर्ण रूपले शान्ति सुरक्षा प्रदान गर्दै आएको बताउनुभयो । 

देशमा भ्रष्टाचार अन्त्य गरेर सुशासन कायम गर्नका लागि दुई ठूला दल मिलेर सरकार बनाएको उहाँले बताउँदै भन्नुभयो, “यो देशमा जति सुकै ठूला मान्छे किन नहोस् यदि अपराध गरेको छ भने कानुन बमोजिम अनुसन्धान हुन्छ । न्यायिक प्रक्रियामा जानु पर्छ ।” गृहमन्त्री रमेश लेखकले कालीगण्डकी करिडोर दुई ठूला अर्थतन्त्र भएका देशहरूलाई जोड्ने सडक रहेको बताउनु भएको छ । संसारको करिडोर ठूला अर्थतन्त्र भएका देश चीन र भारतलाई जोड्ने प्रमुख मार्गको रुपमा स्थापित भएको बताउनुभयो ।

रामपुर देशको अत्यन्त समुन्नत स्थान भएको  र कालीगण्डकी करिडोरले यहाँका जनताको जीवनरेखा कोरेको बताउनुभयो। दुई ठुला  समुन्नत देश भारत र चीनसँग जोड्ने कालीगण्डकी करिडोरको कोरोला नाकामा सरकारले अध्यागमनको कार्यालय स्थापना गरेको जानकारी दिँदै चीनबाट नेपाल आउने र नेपालबाट चिन तर्फ जान पनि सहज हुने भएको छ । “उत्तर तर्फ दुई देश बिचको प्रदेश द्वार हामीले खोलिसक्यौ । भारतसँग पनि खुल्ला छ । करिडोर दुई देशलाई जोड्ने बाटो बनेको छ । ” उहाँले भन्नुभयो । कालीगण्डकी सभ्यताको इतिहास पूर्वीय दर्शनको आफ्नै महत्व रहेको बताउँदै कालीनदी किनारमा रहेको रामपुर प्रकृतिको अनुपमा उपहार रहेको बताउनुभयो ।

नागरिकलाई सहज र सरल रूपले सेवा प्रदान गर्नका लागि सरकार लागिरहेको बताउँदै उहाँले “सरकारको पहिलो प्राथमिकता भनेको नागरिकलाई सेवा प्रदान गर्नु हो । हामी यो विषयमा चिन्तित छौँ । नागरिकलाई कुनै समस्या नहुने गरेर सेवा दिन हामी लाग्छौँ ।”  साढे दुई तले सुविधा सम्पन्न भवनको उद्घाटनको अवसरमा कार्यालयमा राहदानी र राष्ट्रिय परिचय पत्र सेवाको शुभारम्भ गर्नुहुँदै उनले कर्मचारीको अभाव र कुनै पनि सामाग्रीको कारणले कुनै पनि हालतमा सेवा अवरुद्ध हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

इलाका प्रहरी कार्यालय रामपुरमा डिएसपी सहितको दरबन्दी थपका लागि मातहतका निकायलाई निर्देशन समेत दिनुभएको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले पाल्पाको रामपुर क्षेत्र बाट महत्वपूर्ण कार्यहरूको सुरुवात हुँदै आएको स्मरण गराउँदै पाल्पामा सबै राजनैतिक दलहरू एकताबद्ध भएर सार्वजनिक चासोका विषयमा सहकार्य गरेर अघि बढेको बताउनुभयो। राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले धार्मिक तथा आर्थिक हिसाबमा कालीगण्डकी उपत्यका सम्भावना भएको स्थान भएको बताउँदै  कालीगण्डकी करिडोरले यहाँका जनताको भाग्य रेखा कोरेको बताउनुभयो ।

लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन उपसमितिका सभापति राजु प्रसाद श्रेष्ठले यहाँको विकासको लागि जनप्रतिनिधिहरू निरन्तर रुपमा लाग्दै आएपनि नतिजा दिन नसक्दा जनतामा निराशा छाएको दुखेसो पोखे। लुम्बिनी प्रदेश सभा सदस्य विर बहादुर रानाले मुलुकको समृद्धिको पक्षमा सबै राजनैतिक दलहरू एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनालले सङ्घीयता कार्यान्वयनका सवालमा देखिएका समस्याहरूलाई नीतिगत सम्बोधन हुने गरी निकास दिनुपर्ने जोड  दिएका थिए ।

रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले रामपुर नगर र जिल्लाको पूर्वी क्षेत्रका पालिकाको शान्ति सुरक्षाका लागि रामपुरमा डिएसपी सहितको प्रहरी दरबन्दी र सशस्त्र प्रहरी बलको क्याम्प आवश्यक रहेको आवश्यक रहेकोले गृहमन्त्री समक्ष माग गरेका छन्। धार्मिक नदी कालीगण्डकीलाई डाइभर्सन गर्नु कुरा यहाँका जनताले कुनै हालतमा स्वीकार नगर्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाका अध्यक्ष कमलराज तिमिल्सिनाले आफ्नै भवनबाट सेवा प्रवाह सँगै सेवा विस्तार हुनु खुसीको कुरा रहेकोमा जनताले सुविधा पाउनेमा खुशी ब्यक्त गनुभयो ।

कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडीले सरकारी सेवा सुविधालाई सरल र सहज रुपमा प्रदान गर्नका लागि सरकार प्रतिबद्धता गर्दै उहाँले अब लाइन लागेर नभै अनलाइन बाटै सेवा प्रवाहका लागि सरकार लागेको जानकारी गराउनुभयो । १४ कोठा सहितको कार्यालयको भवन चार करोड ३४ लाखमा निर्माण भएको जानकारी दिँदै पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले भवन निर्माण सँगै राहदानी र राष्ट्रिय परिचय पत्र सेवा शुभारम्भ गरिएको जानकारी गराउनुभयो । कार्यक्रममा बासुरी मोबाइल जेभी निर्माण कम्पनीका प्रतिनिधि खिम बहादुर केसी पुरुषोत्तमलाई कार्यालयले समय मै निर्माण सम्पन्न गरेको भन्दै सम्मान गरेको थियो ।

२०७३ सालमा स्थापना भएको  इलाका प्रशासन कार्यालयले रामपुर नगरपालिका, निस्दी र पूर्वखोला गरी जिल्लाको तीन पालिका भित्रका १७ वडाका नागरिकलाई सेवा प्रदान गर्दै आएको छ । गृह सचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीको स्वागत र प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button