तपाईँ सुन्दै हुनुहुन्छः

व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा सभामुखको जोड

गण्डकी ।  सभामुख देवराज घिमिरेले व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

यहाँ सम्पन्न १०औँ अन्तरव्यवस्थापिका सम्मेलनबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले  संसद्को काम प्रभावकारी भए सरकारको काम पनि प्रभावकारी हुने बताउनुभयो ।

सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न सम्मेलनमा व्यवस्थापिकाको सक्रियता बढाउन  महत्वपूर्ण छलफल गरिएको जानकारी दिँदै सभामुख घिमिरेले सङ्घीयता एवं संविधान कार्यान्वयनलाई तीव्रता दिन सङ्घ, प्रदेश र स्थानीय तहको साझा सूची निर्माण गरिने बताउनुभयो । सरकारसँग परामर्श गरी सङ्घ र प्रदेशसभासँग सम्बन्धित ऐन तथा नियम बनाउने जानकारी उहाँले दिनुभयो ।

सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित ऐनकानुन निर्माणमा ढिलाइ गर्न नहुने बताउँदै उहाँले संसद्को आगामी अधिवेशनले ती कानुन पारित गर्ने विश्वास व्यक्त गर्नुभयो । 

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीयतालाई प्रभावकारी रूपमा कार्यान्वयनका निम्ति  आवश्यक कानुनी व्यवस्था गर्न सङ्घीय संसद् प्रतिबद्ध रहेको बताउनुभयो ।

सम्मेलनमा प्रतिनिधिसभा, राष्ट्रियसभाका साथै सातै प्रदेशका सभामुख, उपसभामुख, सचिवलगायत  सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button