पोखरामा हुने ‘ड्रागन बोट रेस फेस्टिभल’ को तयारी तीव्र

पोखरा । पोखरामा हुने दोस्रो संस्करणको ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी तीव्र पारिएको छ । यही पुष १३ देखि १५ गतेसम्म पोखराको फेवातालमा हुने उक्त फेष्टिभलको तयारी तीव्र पारिएको मङ्गलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
नेपाल र चीन बीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्न मद्दत पुग्ने गरी उक्त कार्यक्रम पोखरामा दोस्रो पटक गर्न लागिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताउनु भयो ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुने प्रतियोगितामा नेपाल, चाइना र सिंगापुरको एक टोली सहित २० टोलीको सहभागी हुने भएको मेयर आचार्यले जनाउनु भयो । प्रतियोगितामा चीनबाट ८ टिम , सिंगापुरबाट १ र बाँकी ११ टिम भने नेपालका विभिन्न ठाउँबाट सहभागी हुने भएको उहाँले जनाउनु भयो । प्रतियोगितामा गण्डकी सहित बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टिम, रुपाताल टिम, नाराका सहितका नेपालका ११ टिमको सहभागिता हुने भएको हो ।
५ सय र २ सय मिटरका विजेता टिमलाई जनही ५ हजार अमेरिकी डलर, उपबिजेतालाई भने २ हजार डलर र तेस्रो हुने टिमलाई जनही १ हजार २ सय अमेरिकी डलर साथमा ट्रफी र मेडल प्रमाण पत्र वितरण गरिने भएको छ । पुरस्कारमा मात्र करिब २५ लाख खर्च हुने भएको छ ।

उक्त अवसरमा पोखरामा पोखरा सडक महोत्सव र हर्ट एयर बेलुन फेष्टिभवल समेत उक्त समयमा हुने भएको छ । उक्त प्रतियोगितामा सहभागी हुन चीनबाट खेलाडी सहित अफिसियलको १ सय २९ जनाको टोली चाटर्ड गरी विमान मार्फत पोखरा आउने तयारी भएको नेपालका लागि चिनिया दूतावासका कार्यवाहक राजदूत (डेपुटी चिफ अफ मिसन) वाङसिनले बताउनु भयो । उक्त खेल सहित पोखरामा हुने क्रस कन्ट्री दौड, लुम्बिनी म्याराथन लगायतका कार्यक्रममा आफूहरूले दुई देश बिचको मित्रतालाई कायम राख्न सहकार्य गर्दै आएको उहाँले बताउनु भयो ।
पोखराको खेल पर्यटन प्रवर्द्धनमा ड्रागन बोर्ट रेस कोसेढुंगा सावित भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालले चिनिया पर्यटकहरू मध्य १/२ प्रतिशत मात्र नेपाल भित्राउन सके नेपालको लागि ठुलो उपलब्धि हुने दाबी गर्नु भयो । पोखरा महानगरपालिकाका व्यवसायी प्रवर्द्धन केन्द्रका महाशाखा प्रमुख नवराज अधिकारीले पोखरामा आयोजना हुने प्रतियोगिताका विजेता तथा उपबिजेतालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन पहल गर्ने जनाउनु भयो । बेगनास डुङ्गा व्यवसायी संघका अध्यक्ष रविराज कँडेलले पोखरामा आफ्नो पन झल्कने गरी स्थानीय डुङ्गा प्रतियोगिता समेत गर्न माग गर्नु भयो ।
आफूहरूले चाहेको समयमा ड्रागन वोर्ट नपाएको उहाँले गुनासो गर्नु भयो । गत बर्ष चाइनाले ८ वटा ड्रागन बोर्ट उपहारको रुपमा दिएको थियो भने यस बर्ष पनि अत्याधुनिक थप ८ वटा ड्रागन बाेर्टहरु दिएको छ । यस बर्ष दिएको ड्रागन बोर्ट भने अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि मात्र प्रयोग गरिने भएको महानगरले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्