एनपिएल क्रिकेट : अझ रोमाञ्चक बन्दै

काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अत्यन्त प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलहरूका साथ प्लेअफ चरणमा पुगेपछि अझ रोचक बन्ने देखिएको छ । हालसम्म सम्पन्न २८ वटा खेलका नतिजाले आगामी खेलहरूले नेपालमा क्रिकेटको लोकप्रियतालाई झन् उचाइमा लैजाने स्पष्ट छ ।
नेपालका सबै प्रदेशको प्रतिनिधित्व गरेका आठ टोलीमध्ये चार टोली शीर्ष स्थानमा पुगेका छन् । यसमध्ये सर्वाधिक १२ अङ्क हासिल गर्न सफल सुदूरपश्चिम रोयल्स तथा अङ्क तालिकामा १० अङ्क प्राप्त गरेर दोस्रो स्थानमा पुगेको जनकपुर बोल्डसबीच पुस ३ गते बुधबार दिउँसो प्रतिस्पर्धा हँुदैछ । शीर्ष दुई स्थानमा पुगेका यी दुई टोलीबिच क्वालिफायरमा भिडन्त हुन लागेको हो । यसमा जित्ने टोली फाइनलमा पुग्नेछ । सुदूरपश्चिम र जनकपुर दुवै टोलीले अत्यधिक म्याच जितेकाले दुवै टोलीका खेलाडीहरूमा उच्च मनोबल रहेको पाइएको छ । दुवै टोलीले प्रतियोगिता जित्ने दाबी गर्दै आएका छन् ।
सुदूरपश्चिम टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले सुरुदेखि नै उपाधि जित्ने बताउँदै आएका थिए । विश्वको सर्वोच्च शिखर सगरमाथाको कालापत्थरको ढुङ्गा अङ्कित ट्रफी आफ्नो प्रदेशमा लैजान सफल हुने कप्तान ऐरको आत्मविश्वास रहेको छ । एनपिएलको पहिलो म्याचमा विराटनगर किङ्गसलाई सहज रुपमा पराजित गरेर आफ्नो बलियो उपस्थिति देखाएको जनकपुर टोलीका कप्तान अनिल शाह पनि मधेश प्रदेशमा ट्रफी भित्र्याउन दृढ रहेका छन् । यी दुवै टोलीले विगतका म्याचहरूमा ब्याटिङ, बलिङ प्रदर्शन गर्दै दर्शकहरूको मन जितेका छन् । एनपिएल क्रिकेटमा खेल्न विभिन्न कीर्तिपुर रङ्गशालामा दिनहुँ भइरहेको दर्शकहरूको भीडले गर्दा अत्यन्त लोभिएका छन् । सुदूरपश्चिम तथा जनकपुरको म्याच भएको बखत कीर्तिपुर रङ्गशालामा दर्शकको सङ्ख्या अत्यधिक हुने गरेकाले बुधवारको खेलमा पनि दर्शक व्यवस्थापन चुनौती हुन सक्ने आकलन गरिएको छ । सुदूरपश्चिम टोलीका समर्थकहरूले देउडा तथा जनकपुरका समर्थकहरूले स्थानीय भाखामा नाचगान गरेर माहौल रमणीय बनाउँदै आएका छन् ।

खेलमा पूर्वानुमान गर्न कठिन हुन्छ । एनपिएलमा सशक्त उपस्थिति देखाएको सुदूरपश्चिम तथा जनकपुर जस्तो टोलीलाई पराजित गर्न सफल चितवन राइनोज टोली अहिले अङ्कको आधारमा तेस्रो स्थानमा रहेको छ । बुधबार बिहान समान ८ अङ्क प्राप्त गरेको चितवन राइनो तथा कर्णाली याक्सबीच खेल हुँदैछ । तर काठमाडौँ गुर्खाजले पनि समान आठ अङ्क हासिल गरे तापनि रनरेटका आधारमा प्लेअफबाट बाहिरिनु पर्यो । लिग चरणमा चितवन टोली कर्णालीसँग सात रनले पराजित भइसकेको भएता अब हुने ‘इलिमिनेटर’ प्रतिस्पर्धा चितवन र कर्णाली टोलीका लागि महत्वपूर्ण मानिएको छ । क्वालिफायरमा पराजित हुने टोलीसँग इलिमिनिटरमा जित्ने टोलीले खेल्नेछ । विजयी हुने टोलीका लागि फाइनलको ढोका खुल्ला हुनेछ ।
नेपालीलाई सफलता
एनपिएलमा हालसम्म सबैभन्दा बढी विकेट अतिथि खेलाडी स्कट कुगेलेइनले १३ लिन सफल भएका छन् । त्यसपछि नेपालका ललित राजवंशी र रिजन ढकालले समान १३ विकेट लिएर आफ्नो क्षमतालाई प्रदर्शन गरेका छन् । करण केसीले भने १२ विकेट लिएका थिए । यसैगरी सर्वाधिक २७९ रन रोहित पौडेलले लिन सफल भएका छन् । उनी पछि सर्वाधिक रन लिनेमा अतिथि खेलाडीहरू छन् । तर नेपाली खेलाडीहरूले पनि सयौँ रन लिन सफल भएका छन् । सर्वाधिक रन लिनेको सूचीमा चौथो स्थानमा रहेका नेपाली कुशल मल्लले २०२ रन तथा दीपेन्द्रसिंह ऐरीले १९८ रन लिन सफल भएका छन् । न्युजिल्याण्डबाट एनपिएल खेल्न आएका दिनेश खरेलले १६२ रन तथा अष्ट्रेलियाबाट आएका किशोर महतोले १० विकेट लिएर विदेशबाट खेल्न बोलाइएका नेपालीहरूको सशक्त उपस्थिति देखाएका छन् । अवसरको खोजीमा विभिन्न मुलुकमा रहेका नेपाली क्रिकेटरहरूलाई नेपाल क्रिकेट संघ (क्यान) ले स्वदेशमा पहिलोपटक आयोजित एनपिएल खेल्न बोलाएर उनीहरूको प्रतिभाको कदर गरेको छ ।
यसरी नेपाली तथा विभिन्न मुलुकका चर्चित क्रिकेट खेलाडीहरूले एकै टोलीमा रहेर खेलिरहेको यो प्रतियोगिता उपलब्धिमूलक बनिरहेको छ । प्रतियोगितामा नेपाली युवा खेलाडीहरूलाई पनि खेल्ने अवसर दिइएबाट उनीहरू प्रोत्साहित हुन पुगेका छन् । खुल्ला प्रतिस्पर्धाबाट छनोट भएका युवा प्रतिभाहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूसँग एउटै टोलीमा रहेर खेल्न पाउनु सानो अवसर होइन । एनपिएल क्रिकेटमा खेल्न विभिन्न मुलुकबाट आएका क्रिकेट स्टारहरू कीर्तिपुर रङ्गशालामा दिनहुँ भइरहेको दर्शकहरूको भिडले गर्दा लोभिएका छन् ।
कीर्तिपुरमै बास
कीर्तिपुर रंगशालाको वरिपरि ओछ्यान ओछ्याएका पनि देखिन्छन् । रंगशाला प्रवेशद्वार नजिक खानेकुराका साथै अन्य सामग्री
बेच्नका लागि ठाउँ ओगट्न व्यापारीहरू खुल्ला आकाशमै सुत्ने गरेका छन् । तापक्रम घटेर जाडो बढिरहेको समयमा पनि कीर्तिपुरमा भने क्रिकेटप्रेमीहरुको बिहान सबेरै देखि घुइँचो लाग्ने गरेको छ । टिकट किनेर चिसो चौरमा बस्दै क्रिकेट हेर्दा पनि दर्शकहरूको उत्साहमा भने कमी देखिएको छैन । काठमाडौँ बाहिरका केही टोलीले म्याच हेर्न काठमाडौँ आउनका लागि निःशुल्क बसको व्यवस्था गरेर खेलप्रेमीहरुलाई हौसला दिएका छन् । कीर्तिपुर रङ्गशालामा दर्शकहरूले गरेका फोहर सफा गर्ने काममा पनि क्रिकेटप्रेमी युवाहरूले सक्रियता देखाएका छन् ।
खेलाडी पर्यटक बन्दै
नेपालमा एनपिएलका लागि अनुबन्ध भई आएका विश्व प्रसिद्ध क्रिकेट खेलाडीहरूको नेपालको गतिविधिले विदेशमा नेपालको प्रचार भइरहेको छ । उनीहरूले विभिन्न भागको भ्रमण गरेर नेपालको पर्यटन प्रवद्र्धन गरेका छन् । भारतका चर्चित क्रिकेट खेलाडी शिखर धवनले पहिलो पटक एनपिएलमा खेल्न नेपाल आएर सगरमाथा आधार शिविरको भ्रमण गर्न समेत भ्याएका थिए । कर्णाली याक्सका तर्फबाट तीन खेलपछि स्वदेश फर्किएका धवनले सगरमाथा क्षेत्रमा बिताएको क्षणका तस्बिर तथा समाचार विभिन्न अन्तर्राष्ट्रिय माध्यमले समेत महत्व दिएर प्रकाशित गरेका थिए । एनपिएल क्रिकेट हेर्न नेपाल आएका विश्व विख्यात क्रिकेटर ब्रायन लाराको नेपाल भ्रमणले पनि विश्वमा नेपाललाई चिनाउन मदत गरेको छ । उनले पनि सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए ।
कमेण्टेटरको कमाल
एनपिएल क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारणको माध्यमबाट विश्वमा नेपालको व्यापक रुपमा प्रचार भइरहेको छ । एक्सन स्पोर्टस अन्तर्राष्ट्रिय टेलिभिजनले क्रिकेट प्रतियोगिताका साथै नेपालको पर्यटन प्रवद्र्धन पनि गरिरहेको छ । क्रिकेटको प्रत्यक्ष प्रशारणमा विश्वमै ख्याति कमाएका कमेण्टेटरहरुले दिनहुँजसो नेपालको हिमाल, कला संस्कृति तथा जनजीवनका बारेमा मुक्त कण्ठले प्रशंसा गरिरहेका छन् । उनीहरूले अङ्ग्रेजी भाषामा नेपाली खाजा मःमःदेखि भक्तपुरको जुजु धौ समेतको बारेमा विश्वको विभिन्न देशमा प्रचार गरिरहेका छन् । बेलाबेलामा ड्रोनको माध्यमबाट देखाइने गरिएको काठमाडौँ उपत्यकाको रमणीय दृश्यले भविष्यमा पर्यटक बढाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।
आगामी दिनको सम्भावनाको ढोका खोल्न पनि योगदान गरिरहेका छन् । तर नेपालमा सयौँ टेलिभिजन भएता पनि एनपिएल हेर्न विदेशी च्यानलको भर पर्नुपर्ने तथा पर्ने तथा अङ्ग्रेजी नबुझ्नेहरूका लागि खेलका गतिविधि बुझ्न कठिनाइ भइरहेको छ । (लेखक खेल पत्रकारिताको जानकार हुनुहुन्छ) रासस








प्रतिक्रिया राख्नुहोस्