तिलोत्तमाका मेयरद्वारा आफूले पाउने पारिश्रमिकबाट १४६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले आफूले पाउने पारिश्रमिक तथा सेवा सुविधाको रकमबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्नुभएको छ ।
प्रमुख खाँणले सोमबार एक कार्यक्रमको आयोजना गरी नगरभित्रका ४२ वटा सामुदायिक विद्यालयका १४६ विद्यार्थीहरूलाई आफूले वर्षभरि पाउने तलब र अन्य पारिश्रमिक रकमबाट जनही ५ हजारका दरले ७ लाख ३० हजार छात्रवृत्ति वितरण गर्नुभएको हो ।
यसअघि तिलोत्तमा नगरपालिकाका पूर्व मेयर वासुदेव घिमिरेले पनि आफूले पाउने मासिक पारिश्रमिक र सेवा सुविधाको रकम सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिन सुरु गर्नुभएको थियो । अहिलेका मेयर खाँडले यसलाई निरन्तरता दिनुभएको हो ।
नगर प्रमुख खाँणले आफू निर्वाचित भएको वर्षदेखि नै आफूले पाउने पारिश्रमिक वापतको रकम छात्रवृत्ति वितरण गर्दै आएको बताउनुभयो।
उहाँले यस रकमले पढ्न इच्छा भएर पनि बीचमै पढाई रोक्नुपर्ने बाध्यता आउन सक्ने विद्यार्थीले भविष्य बनाउन पाउने भएकाले यो अवसर प्रदान गरेको बताउनुभयो ।
नगर उपप्रमुख जगेश्वरदेबी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, शिक्षा शाखा प्रमुख गङ्गाराम आचार्यलगायतले छात्रवृत्तिको रकममा विद्यार्थीहरूले आफूलाई चाहिने पोशाक तथा कापी किताबमा मात्रै खर्च गर्न आग्रह गर्नुभयो ।
सोही कार्यक्रममा तिलोत्तमा नगरपालिकाले कक्षा ८, एसइई र कक्षा १२ को नतिजामा उत्कृष्ट नतिजा ल्याएका १२ विद्यालयका १९ जना विद्यार्थीलाई प्रति विद्यार्थी ६ हजारका दरले एक लाख १४ हजार रुपैयाँ र प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्