सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका स्वीकृत
सरकारले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलगायत ३५ जनालाई सम्मान गर्ने
काठमाडौँ । सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका २०८१ स्वीकृत गरेको छ ।
मङ्सिर २७ र २८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू आज मन्त्रालयमा सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले निर्देशिका अनुसार सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई प्रोत्साहन गर्दै सार्वजनिक गरिने गर्ने बताउनुभयो ।
सञ्चार मन्त्री गुरुङले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त हुनुभएको र शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा डा.राजेन्द्रप्रसाद बराल, दीपकराज सापकोटालाई मनोनयन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
यस्तै, फुटबल, कराते र भलिबल प्रतियोगितामा विजयी खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी ३५ जनालाई पुरस्कार तथा सम्मान गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृति दिने पनि निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गुरुङले बताउनुभयो ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शहरी नीति २०८१, औद्योगिक तथा लगानी कोष सञ्चालन कार्यविधि, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन नीति र विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन पहिलो संशोधन आदेश २०८१ लाई स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद् बैठकले एशियाली विकास बैङ्कबाट प्राप्त हुने हरित उत्थानशील र समावेशी विकास कार्यक्रमका लागि एक सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने लगायतका विभिन्न अनुदान सहायता तथा ऋण स्वीकार गर्ने लगायतका निर्णय गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्