तपाईँ सुन्दै हुनुहुन्छः

मानवअधिकार रक्षाका निम्ति सदन सधैँ सहयोगी रहनेछ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले मानवअधिकारको रक्षाका निम्ति सदन सधैँ सहयोग रहने बताउनुभएको छ ।

छयत्तरौँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले मानवअधिकार रक्षा गर्न सरकार सधैँ संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

विश्वव्यापीकरण र खुला बजारमा हुने अस्वस्थ प्रतिस्पर्धाका कारण वस्तु र सेवाको उत्पादनदेखि उपभोक्तासम्म पुग्ने आपूर्ति शृङ्खलाका विभिन्न चरणमा संलग्न श्रमिक र सीमान्तकृत समुदायको आधारभूत मानवअधिकारको सुनिश्चितताको विषय थप चुनौतीपूर्ण बनेको उल्लेख गर्दै उहाँले उनीहरूको मानवअधिकारको सुनिश्चितताका लागि विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

“सूचना प्रविधिको विकासले मानव समाजलाई सरल बनाएको भए पनि प्रविधिको असमान विकासले यसको पहुँच र प्रयोगमा विभेद सृजना गरेको छ, प्रविधिको विकासले सामाजिक र सांस्कृतिक मूल्य मान्यतामा पनि नयाँ नयाँ समस्या र चुनौती थपिएका छन्”, सभामुख घिमिरेले भन्नुभयो, “प्रविधिको प्रयोग मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा अधिकतम रुपमा हुनु स्वाभाविक भए पनि यसको दुरुपयोगबाट अरूको मानवअधिकार हननको जोखिम टड्कारो देखिएको छ ।”

उहाँले पछिल्लो दशकमा भएका ऐतिहासिक परिवर्तनबाट प्राप्त राजनीतिक उपलब्धिको जगमा मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणमार्फत विद्यमान वर्गीय, क्षेत्रीय, भाषिक, धार्मिक र लैङ्गिक विभेद अन्त्य गरी समतामूलक समाज निर्माण गर्न इमान्दारीपूर्वक लाग्नु सबैको कर्तव्य भएको बताउनुभयो ।

सभामुख घिमिरेले संविधानसभामार्फत नयाँ संविधान घोषणा गरी आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पछाडि परेका उत्पीडित, अल्पसङ्ख्यक र सीमान्तकृत समुदायको अस्तित्वको पहिचान, स्वतन्त्रता, समानता र न्यायको प्रत्याभूतिका लागि समानुपातिक प्रतिनिधित्व र सकारात्मक विभेदको नीतिलाई आत्मसात् गरिएको बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारबाट मानव अधिकार संरक्षणका लागि महत्वपूर्ण प्रयास भएका उल्लेख गर्दै भविष्यमा पनि मानव अधिकारीको संरक्षणमा सबै लाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मानव अधिकार संस्कृतिको निर्माण गर्नका लागि सबैलाई आग्रह गर्नुभयो ।

मुख्य सचिव एकनारायण अर्यालले तीनै तहका सरकार, संवैधानिक निकायहरूका साथै सबैले मानवअधिकारको संरक्षणका निम्ति जुट्नुपर्नेमा जोड दिनुभयो ।

सन् १९४८ मा मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणा भएको आज ७६ वर्ष भयो । विश्वभरी नै १० डिसेम्बरका दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको सम्झनामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button