गढीमाई मेला : श्रद्धा, आस्था र परम्परागत संस्कृतिको संगम
वीरगञ्ज । पञ्चवर्षीय गढीमाई मेला २०८१ आज चरम उत्कर्षमा पुगेको छ ।

बाराको गढीमाई मन्दिर परिसरमा आज नेपाल भारत लगायत विभिन्न देशबाट लाखौँ श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको छ । गढीमाई मेला श्रद्धा, आस्था, र परम्परागत संस्कृतिको संगम बन्न पुगेको छ ।
मेला स्थलमा विभिन्न धार्मिक अनुष्ठान, पूजा, र सांस्कृतिक कार्यक्रमहरू भइरहेका छन् । भक्तजनहरूको भिड र उनीहरूको आस्थाले गढीमाईलाई नेपालकै मात्र नभई अन्तर्राष्ट्रिय श्रद्धाको केन्द्र बनाएको छ । भारतलगायत विभिन्न देशबाट आएका तीर्थयात्रीहरूले मेलालाई थप आकर्षक बनाएको छ ।

यसपटकको मेलामा सुरक्षाको विशेष व्यवस्था, सरसफाइ अभियान, र मेलाको व्यवस्थापन थप प्रभावकारी बनाइएको छ ।
बाराको बरियारपुरमा लागेको प्रसिद्ध गढीमाई मेलामा दर्शनार्थीहरुको भिड सँगै विभिन्न प्रदर्शनी, साँस्कृतिक र्याली, झाँकी जुलुस, भजन कीर्तनले मेलालाई थप रौनक बनाएको छ ।

मेला मनाउनका लागि गढीमाई क्षेत्रमा बाराका स्थानीय तहले गत शुक्रबारदेखि लागु हुने गरी चार दिनकालागि सार्वजनिक बिदा दिएका छन् ।
त्यसैगरी मधेस प्रदेश सरकारले समेत आज प्रदेशभर सार्वजनिक बिदा दिएको थियो ।
मेलामा दर्शनार्थीको सहजताका लागि सुरक्षा व्यवस्था, बिजुली बत्ती, सिसी क्यामरा, शौचालय, पार्किङ, खानेपानी लगायतको व्यवस्थापन मिलाएको मेला मूल समितिका प्रवक्ता विजय स्वर्णकारले बताउनुभयो । मेलामा सादा पोसाकसहितका २ हजार ५ सय भन्दा बढी सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।
यसैबीच आज मेला स्थलमा पुग्नु भएका खानेपानीमन्त्री प्रदीप यादवले पञ्चवर्षीय गढीमाई मेलामा आउने श्रद्धालु भक्तजनलाई चौबिसै घण्टा शुद्ध एवम् स्वच्छ खानेपानी सहित आधारभूत सेवा उपलब्ध गराउन निर्देशन दिनुभएको छ । मेला अवधिभर शुद्ध एवम् स्वच्छ खानेपानी वितरण गरिने खानेपानी संस्थान बारा कलैया शाखाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्