तपाईँ सुन्दै हुनुहुन्छः

वन्यजन्तु प्रभावितका लागि भएका क्षतिपूर्ति तथा राहतका बारेमा पीडित नै अनभिज्ञ

बाँके । बाँकेका राप्ती सोनारी गाउँपालिका वडा नं. २ माथेबासका वन्यजन्तुबाट प्रभावित समुदायहरूले वन्यजन्तुबाट भएको क्षतिमा तत्काल राहत वा क्षतिपूर्ति पाउनु पर्ने बताएका छन् ।

वन्यजन्तुले निरन्तर समुदायमा नोक्सानी गरिरहेको तर पीडित परिवारले क्षतिपूर्ति समयमै पाउन नसक्दा ठूलो समस्या परेको पीडितहरूको भनाई । माथेबासमा विशेषगरी हात्ती, बाघ र बाँदर लगायतका वन्यजन्तुले निरन्तर क्षति गर्दै आएको स्थानीय चित्रबहादुर डाँगीले बताउनुभयो । उहाँले भण्डारण गरेको अन्न समेत वन्यजन्तुले खाइदिने गरेको दुखेसो पोख्नुभयो । 

जनमुखी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर खड्काले भन्नुभयो, “वन घना भएपछि वन्यजन्तु भइहाल्दो रहेछ, बाघले मेरो गाउँका छिमेकी केशबहादुर वलीको २ वटा जर्सी खाइदिएको धेरै भयो तर उहाँले अहिलेसम्म क्षतिपूर्ति पाउनुभएको छैन । वन्यजन्तुबाट भएको क्षतिको तत्काल राहत पाउने व्यवस्था मिलाउनुपर्छ । ” ऐलानी जग्गामा बस्ने मानिसहरूले राहत नपाउने कुराले स्थानीयलाई समस्या परेको उहाँले जिकिर गर्नु भयो ।

कार्यक्रममा हात्तीको आक्रमणबाट लामो समयदेखि उपचारत ३४ वर्षीय लक्ष्मी वोहोराले अहिलेसम्म उपचार खर्च नपाएको गुनासो गर्नु भयो । उहाँले उपचारका क्रममा ३ लाख रुपियाँ खर्च भएको र कतैबाट कुनै सहयोग नपाएको बताउनुभयो ।

आफूहरूले क्षतिपूर्ति के पाइन्छ र कसरी पाउने नीतिगत व्यवस्था छ भन्ने बारे थाहा नै नपाएको स्थानीय शिवलाल पाण्डेले गुनासो गर्नु भयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button