राज्यव्यवस्था समिति बैठक : निजामती विधेयक माथि छलफल
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सङ्घीयता कार्यान्वयन गर्नका लागि निजामती विधेयक ऐतिहासिक हुने बताउनुभएको छ ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्न आज बसेको संसद्को राज्य व्यवस्था समितिको बैठकमा मन्त्री गुप्ताले स्थायी सरकारका रुपमा परिचित कर्मचारीतन्त्रलाई थप उत्तरदायी बनाइ सार्वजनिक सेवा प्रभावलाई व्यवस्थित बनाउन ऐन ल्याइएको बताउनुभयो ।
बैठकमा सरकारका मुख्य सचिव एकनारायण अर्यालले निजामती ऐनको अभावमा निजामती कर्मचारीमा निराशा बढेर सेवा प्रभावमा समस्या देखिएको हुँदा तत्काल ऐन पारित गर्नुुपर्नेमा जोड दिनुभयो ।
बैठकमा विधेयकमाथि संशोधन राख्न उपस्थित हुनु भएका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले थारु समुदायलाई निजामती सेवामा न्यायोचित सम्बोधन गर्न आग्रह गर्नुभयो ।
त्यसैगरी संशोधन दर्ता गराउनुभएका सांसदहरु अच्युत मैनाली, प्रतीक्षा तिवारी, उर्मिला माझी र कान्तिका सेजुवाललगायतले विधेयकमा निजामती कर्मचारीको स्वास्थ्य बिमा योजनाको सट्टामा स्वास्थ्य उपचार कोषको व्यवस्था गरिनुपर्ने, साझा युनियन मात्रै गठन गर्न पाउने व्यवस्था गरिनुपर्ने, सबै निजामती कर्मचारीलाई अनिवार्य दुर्गममा जानै पर्ने व्यवस्था विधेयकमा गर्न संशोधन प्रस्तुत गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्