सिरियाका राष्ट्रपतिले देश छाडेर रुसमा शरण लिएकाे दावी
काठमाडौं । सिरियाका राष्ट्रपति बशर अल-असद र उनको परिवारले देश छाडेर रुसमा शरण लिन पुगेको दावी गरिएको छ । हाल सिरियाको राजधानी दमास्कसमा अन्योल र त्रासको वातावरण छ । विद्रोहीहरू दमास्कसको नजिक पुगिरहँदा असादले देश छाडेर भागेको अनुमान गरिएको हो ।
पछिल्लो ११ दिनयता जारी विद्रोही र सैनिकबिचको संघर्षमा विद्रोही जित नजिक पुगेका छन् । विद्रोही लडाकुहरू तीनवटा शहर कब्जा गरेर अहिले राजधानी दमास्कस पुगेको सिएनएनले जनाएको छ ।
मिडिया रिपोर्ट अनुसार विद्रोहीको कब्जामा पर्ने डरले राष्ट्रपति बशर अल-असद र उनको परिवारले देश छाडेर रुसमा शरण लिन पुगेको जनाइएको छ । यद्यपि, सिरिया सरकारले असदले देश छाडेर भागेको खबरहरूको खण्डन गरेको छ ।
संघर्षका कारण अहिलेसम्म ३ लाख ७० हजारभन्दा बढी मानिसहरू विस्थापित भएको जनाइएको छ ।
पछिल्लो पटक सिरियामा २७ नोभेम्बरमा सिरियाली विद्रोही हयात तहरीर अल शाम र सरकारबिच संघर्ष सुरु भएको थियो । त्यसपछि विद्रोहीले १ डिसेम्बरमा उत्तरी शहर अलेप्पो कब्जा गरेका थिए । साथै उनीहरूले ४ दिनपछि हमा कब्जा गरे । त्यसपछि ७ डिसेम्बरमा दक्षिणी सहर दारा कब्जा गरेर अघि बढेका थिए ।
प्रतिक्रिया राख्नुहोस्