एक करोड बढी मूल्यका सुनचाँदी र नगदसहित तीन जना पक्राउ
कैलाली । कैलालीमा एक करोडभन्दा बढीको सुन, चाँदी र नगदसहित तीन जना पक्राउ परेका छन् । भजनि नगरपालिका– ५ स्थित कौवाखेडा सीमाबाट एक करोड मूल्य बराबरको सुनचाँदी, नगद र अन्य सामानसहित सशस्त्र प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो ।
सुर्खेत चौकुनी गाउँपालिका–१० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका– ११ बस्ने ३२ वर्षीय महेश सुनारलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा ८० लाख ७९ हजार पाँच सय ६१ रुपियाँ बराबरको ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार चार सय ६० रुपियाँ बराबरको आठ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका छ लाख ११ हजार छ सय २५ भारतीय रुपियाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाडाकुडासहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
उल्लेखित सामानको स्रोत नखुलेपछि नियन्त्रणमा लिएकाहरूलाई बरामद सुनचाँदी, नगद र अन्य सामानसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सहप्रवक्ता थापाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्