शिक्षालाई ठीक ढङ्गले अगाडि बढाउनुपर्छ : सभामुख घिमिरे
पाटन (ललितपुर) । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिक्षालाई ठिक ढङ्गले लैजान सकेमात्र समाजका सबै समस्या हल गर्न सकिने बताउनुभएको छ ।
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज ललितपुरको जावलाखेलमा आयोजित १६ औँ वार्षिक साधारण सभामा सभामुख घिमिरेले शिक्षाको ज्ञान र चेतना भर्ने शिक्षकले समाजलाई कता लैजाने भन्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
“शिक्षक शिक्षाको चेतना भर्ने समाजका अगुवा हो, आफू जलेर समाजलाई अगाडि बढाउने शिक्षकले समाजको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ, समाज परिवर्तनमा शिक्षकले धेरै काम गरेका छन्, राजनीतिक विभाजनले गर्दा शिक्षा क्षेत्रमा धेरै प्रगति हुन सकेको छैन, परिवर्तनका लागि शिक्षकहरू एक ठाउँमा उभिनु जरुरी छ,” सभामुख घिमिरेले भन्नुभयो ।
उहाँले शिक्षकहरूको हितका लागि सानो सानो पूँजी जुटाएर काम गरेको सहकारी संस्थाले उत्कृष्ट काम गर्दै देशभर अगुवाइ गरेर अगाडि बढेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “धेरै प्रयत्न गरिएको छ, राजनीतिक दलहरूबीच छलफल गरी आधारभूत कुराहरू टुङ्गोमा पुर्याएर निकास दिने तयारीमा छौँ ।”
साधारण सभामा नेपाल राष्ट्रिय शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष विष्णु भण्डारीले शिक्षकहरूद्वारा सञ्चालित ५४ जिल्लाका सहकारीलाई एकत्रित बनाएर बैङ्किङ कारोबारमा लैजानुपर्नेमा जोड दिनुभयो ।
साधारण सभामा सहकारीका सञ्चालक समितिका अध्यक्ष शुक्र थापाले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्