भूकम्प प्रभावितलाई नमूना घर हस्तान्तरण
रुकुम पश्चिम । रुकुम पश्चिम र जाजरकोट जिल्लाका चार भूकम्प प्रभावित परिवारको लागि निर्माण गरिएका नमूना घर प्रभावित परिवारलाई हस्तान्तरण गरिएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ छेपारे निवासी बिपेन्द्र जैसी, सोहि नगरपालिका १३ भल्माका हरिजंग मल्ल, जाजरकोटको भेरी नगरपालिका १ पिपे निवासी बबिता राना र सोहि वडाको सानो पुल रिम्ना निवासी परिमले रानालाई नमूना घर हस्तान्तरण गरिएको हो ।

बेलायती राजदूतावास एफसीडीओको सहयोगमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा राष्ट्रसङ्घीय निकायहरूको साझेदारीमा सञ्चालित संयुक्त पुनर्लाभ कार्ययोजना अन्तर्गत यी भवन तयार भएका हुन् । नमूना आवास अन्तर्गत तयार गरिएका यी भवनहरू सिएसईबी प्रविधिमा आधारित रहेका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का आवास संयोजक चेरी अबिला, गैर सरकारी संस्था महासङ्घ रुकुम पश्चिम अध्यक्ष भिमराज ओली, स्थानीय जनप्रतिनिधिहरू लगायतले एक कार्यक्रमका बिच औपचारिक रुपमा प्रभावित परिवारलाई घर हस्तान्तरण गर्नुभएको हो ।
बलियो र सुरक्षित निजी आवास सम्पन्न गरेर औपचारिक रुपमा हस्तान्तरण गरिएको बताइएको छ । यी घरहरूमा वातावरणमैत्री इट्टाको प्रयोग गरेर भूकम्प प्रतिरोधी बनाइएको छ । नमूना आवासका लागि तयार गरिएको घरहरूमा दुई वटा कोठा रहेका छन् भने एक शौचालय रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्