तपाईँ सुन्दै हुनुहुन्छः

विलविजक भन्दा २ करोड बढीको सामानसहित २ वटा  ट्रक प्रहरीको नियन्त्रणमा 

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले विल विजक भन्दा बढी २ करोड ९ लाख बराबरको हार्डवेयर र औषधि सहितका सामान लोड गरेका दुई वटा ट्रक नियन्त्रणमा लिएर आज राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।

विल विजक भन्दा बढी सामान लोड गरेको विशेष सूचनाको आधारमा गएराति वीरगञ्ज महानगरपालिका वडा नं.१५ प्रतिमा चौकबाट ना.४ ख ९८५१ र प्रदेश.२–०३–००१ ख ६५५७ नम्बरको मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो ।  

वीरगञ्जबाट हार्डवेयर र औषधि सामानहरू लोड गरी काठमाडौँ र विराटनगर लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विल विजक भन्दा बढीका सामान रहेको भेटेपछि ट्रक नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको ट्रकमा रहेको सामानको मूल्य २ करोड ९ लाख ८ हजार ८४२ मूल्याङ्कन गरी थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायव उपरीक्षक लम्सालले बताउनुभयो ।

  

प्रतिक्रिया राख्नुहोस्

Back to top button