महिला हिंसा सह्य हुँदैन: गृहमन्त्री लेखक
काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताउनुभएको छ ।

बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा ३३ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिन अभियानका सन्दर्भमा यहाँ कार्यरत २६ वटा नागरिक संस्थाले बुझाएको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै महिला विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
वैदेशिक रोजगारीमा महिला सुरक्षाको विषयमा पनि आफू गम्भीर रहेको बताउनुहुँदै उहाँले आप्रवासी महिला कामदारलाई शोषण र दुर्व्यवहारबाट जोगाउन सरकारका संयन्त्रहरू क्रियाशील रहेको जानकारी दिनुभयो ।

“ पछिल्लो समय सामाजिक सञ्जाल, डिजिटल मिडियाले महिलाहरू पनि प्रताडित छन्,।” गृहमन्त्री लेखकले भन्नुभयो–“ लोकतन्त्रमा आलोचना, विरोध र धारणा राख्न पाइन्छ तर सभ्य र सुसंस्कृत ढङ्गबाट गर्नुपर्छ ।”
उहाँले डिजिटल मिडियामा आइरहेको घृणात्मक अभिव्यक्ति र हिंसा, दुर्व्यवहार नियन्त्रणका लागि पहल भइरहेको बताउनुभयो ।

त्यसैगरी संविधानको भावना अनुरुप समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न बन्दै गरेको एकिकृत निर्वाचन विधेयक आगामी संघीय संसदमा पेश हुने गरी गृह मन्त्रालय अघि बढेको मन्त्री लेखकको भनाई थियो ।
जातीय आधारमा हुने विभेद, अपमान र सबैखाले हिंसा अन्त्य लगायतका १६ बुँदे ध्यानाकर्षण पत्र बुझाउन कोपिला नेपाल, विश्वास नेपाल, जागृति महिला महासङ्घ लगायतका २६ वटा संस्थाका प्रतिनिधि आएका थिए ।







प्रतिक्रिया राख्नुहोस्