खानेपानीका अधुरा र अपुरा योजना अब अघि बढाउँछौँ : मन्त्री यादव
पोखरा । खानेपानी मन्त्री प्रदीप यादवले खानेपानीका अधुरा र अपुरा योजनाहरू अब अघि बढाउने बताउनुभएको छ ।
पोखरा महानगरपालिकामा जापान सरकारको अनुदान सहयोगमा नेपाल खानेपानी संस्थान अन्तर्गत पोखरा खानेपानी सुधार आयोजनाको निर्माण सम्पन्न भएका संरचनाहरूको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा मन्त्री यादवले मानव जीवनका लागि अत्यावश्यक पानी उपलब्ध गराउने गरी सरकार योजनाबद्ध ढङ्गबाट अघि बढेको उल्लेख गर्नुभयो ।
पोखरामा दैनिक ४ करोड लिटर सुद्ध पिउने पानीको परियोजनामा सहयोग गर्ने जापान सरकारलाई धन्यवाद दिँदै मन्त्री यादवले उक्त परियोजनालाई दिगो रुपमा सञ्चालन गर्न मन्त्रालयसहित स्थानीय सरकारलाई निर्देशन दिनुभयो ।
प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले जलविद्युतका कारण पानीका मुहानहरू सुक्ने अवस्था भएकोले पानी वितरणमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
गण्डकी प्रदेशका सांसद गणेशमान गुरुङले पानीको मुहानमा अझै पनि घाटहरू अव्यवस्थित भएकोले त्यसलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले अरबौँ योजनाको उक्त परियोजना सम्पन्न गर्दा स्थानीयलाई राम्रोसँग नसमेटेको भन्दै माछापुच्छ्रेका स्थानीयको माग पूरा गर्न आग्रह गर्नुभयो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जापान सरकार र माछापुच्छ्रे गाउँपालिकाका स्थानीयको ठुलो सहयोगमा पोखरामा शुद्ध पिउने पानी परियोजना सफल भएकोमा धन्यवाद दिँदै उक्त परियोजनाको क्रममा अझै पोखराका केही सडकमा खानेपानीका पाइपको लागि खनिएका केही ठाउँमा पिच हुन बाँकी रहेको जनाउनुभयो । पोखरामा बाँकी करिब डेढ लाख जनताको लागि पोखराका ३ ठाउँमा बोरिङ निर्माण गर्ने मेयर आचार्यले उल्लेख गर्नुभयो ।
जाइका नेपाल प्रतिनिधि तानाको तोमोले दुई देशबिचको सम्बन्ध यस्ता परियोजनाले थप प्रगाढ बनाउने बताउँदै आगामी दिनमा पुनः यस्ता सहयोग गर्ने बताउनुभयो ।
जापानी सहयोग नियोग (जाइका) को अनुदानमा पोखरामा पोखरा खानेपानी सुधार आयोजना निर्माण भएको हो । उक्त परियोजनाबाट दैनिक ४ करोड १० लाख लिटर शुद्ध पानी पोखरामा उपलब्ध हुने नेपाल खानेपानी संस्थाका निमित्त महाप्रबन्धक त्रिदीप कुमार श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्