तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन आर्मी र एपिएफ फुटबल क्लबबीचको खेल बराबरीमा सम्पन्न

काठमाडौँ । ललित स्मृति एन्फा यु–१८ युथ लिगअन्तर्गत विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब हारबाट जोगिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा आर्मीले नेपाल एपिएफ फुटबल क्लबसँग २–२ को बराबरीमा खेलेको हो । योसँगै ११ खेलमा १७ अङ्क जोडेको एपिएफ छैटौँ स्थानमा यथावत् छ । आर्मी समान खेलबाट नौ अङ्कका साथ १०औँ स्थानमा छ ।
आर्मीका रुस्तम थापामगर र अनुभव पुरी गोल गरेका थिए । एपिएफका सञ्जय योञ्जन र सुनिल थिङले गोल फर्काए । खेलको पाँचौँ मिनेटमा रुस्तमको गोलमार्फत आर्मीले सुरुआती अग्रता लियो । तर, २४औँ मिनेटमा सञ्जयले एपिएफलाई खेलमा फर्काए ।

३१औँ मिनेटमा सुनिलले गोल गर्दै एपिएफलाई २–१ को अग्रता दिलाए । ६५औँ मिनेटमा अनुभवले गोल गर्दै आर्मीलाई २–२ अवस्थामा फर्काए ।

अर्को खेलमा सङ्कटा क्लबले मच्छिन्द्र क्लबविरुद्ध ४–२ को सहज जित दर्ता गरेको छ ।

जितसँगै ११ खेलमा १८ अङ्क जोडेको सङ्कटा पाँचौँ स्थानमा उक्लिएको छ । पराजित मच्छिन्द्र समान खेलबाट समान अङ्कका साथ छैटौँ स्थानमा छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सङ्कटालाई जित दिलाउन कृष्णबहादुर आलेमगरले दुई तथा सविनकुमार लुंगेलीमगर र सुदीप लामाले समान एक गोल गरे । मछिन्द्रका लागि कबिर तामाङ र रोनिक रानामगरले गोल गरे ।

खेलको २७औँ मिनेटमा कबिरको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । ५७औँ मिनेटमा सविनले खेललाई बराबरीमा ल्याए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button