कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीमा युवा वर्गलाई आकर्षण गर्ने गरि नयाँ योजना, अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा नीतिगत सुधारका लागि गृहकार्य गर्न राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिनुभएको छ ।
२०औँ राष्ट्रिय कफी दिवसका अवसरमा कीर्तिपुरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले नेपालको भौगोलिक अवस्था, माटो र जलवायु अर्ग्यानिक कफीको उत्पादनका लागि अत्यन्तै उपयुक्त रहेको भन्दै उत्पादन र उत्पादकत्वमा अझै पनि व्यापक सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।
मन्त्री अधिकारीले स्वदेश तथा विदेशमा उच्च माग रहेको नेपाली कफीको व्यावसायिक उत्पादनमा थप लगानी गर्न निजी क्षेत्रलाई आग्रह समेत गर्नुभयो । उहाँले मन्त्रालयले कफी क्षेत्रको विकास तथा बिस्तारका लागि उपयुक्त नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
उहाँले कफी ३० हजार भन्दा बढी नेपाली किसानहरूको आय आर्जनको स्रोत बनेको र हजारौँले कफी उद्योग तथा क्याफे हाउसहरूमा रोजगारी समेत पाइरहनु नेपाली कफी क्षेत्रको लागि गौरवको विषय बनेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्