बहिरा मानिसहरूको हक अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बहिरा व्यक्तिको पहिचान, शिक्षा तथा विकास प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा शुक्रबार बहिरा महासङ्घका केन्द्रीय प्रतिनिधि मण्डलसँगको भेटमा मुख्यमन्त्री आचार्यले समावेशी शिक्षा र साङ्केतिक भाषालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तर्जमा गर्ने बताउनुभयो । ‘बहिरा नागरिकको हक अधिकार राज्यले सम्बोधन गर्छ’ उहाँले भन्नुभयो ‘बहिरा नागरिकको पहुँच बढाउन ध्यान दिन्छौँ ।’
यसैबीच बहिरा नागरिकहरूको राष्ट्रिय भेला हुने भएको छ । मुख्यमन्त्री आचार्यलाई राष्ट्रिय भेलाको बारेमा जानकारी गराइएको छ । बुद्धजन्मस्थल लुम्बिनीमा मङ्सिर २८ गते राष्ट्रिय भेला र रजत महोत्सव गर्न थालिएको हो । ५४ वटा जिल्लामा बहिरा संघ छ । ७ वटा प्रदेशमा छ समिति बनेका छन् ।
बहिरा महासङ्घका केन्द्रीय अध्यक्ष सन्तोष केसी, लुम्बिनी प्रदेशका अध्यक्ष रिन्कु गुप्ता, जिल्ला अध्यक्ष लगायतको टोलीले मुख्यमन्त्री आचार्य र सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनासंग भेट गरेको थियो ।






प्रतिक्रिया राख्नुहोस्